खोटाङको कारागार भवन जीर्ण

काठमाण्डु टुडे २०७१ पुष ३ गते ४:३८ मा प्रकाशित

खोटाङ, ३ पुस– ठेकेदारको लापर्वाहीले जिल्ला कारागार शाखा खोटाङको भवन जीर्ण बनेपछि कैदीलाई समस्या भएको छ ।
निर्माण भएको केही समय नबित्दै जग भाँसिएपछि सबै भवन जीर्ण बनेको हो ।

एकसय जना अटाउन सक्ने क्षमता रहेको कारागारको जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्दा व्यवस्थापनमा थप समस्या भएको जेलर चित्राखर आचार्यले बताए ।

कारागारको भौतिक संरचना जीर्ण भएकोप्रति राष्ट्रिय मानव अधिकार आयोगले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइसकेको छ । कैदीबन्दीका लागि निर्माण गरिएको शौचालय त झनै काम नलाग्ने रहेको आयोगको उपक्षेत्रीय कार्यालय खोटाङका निमित्त प्रमुख लोकनाथ घिमिरेले जानकारी दिए ।

कारागारको भवन निर्माणको जिम्मा पाएका ठेकेदार शम्भु घिमिरेले सरकारी दरभन्दा २५ प्रतिशत बढीमा ठेक्का लिएर भवन निर्माण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले जीर्ण कारागार तत्काल सम्बन्धित ठेकेदारलाई पुनःमर्मत गर्न निर्देशन दिने बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us