चिसो बढ्न थालेपछि छाउपडीलाई समस्या

काठमाण्डु टुडे २०७१ पुष ३ गते २:५५ मा प्रकाशित

बाजुरा, ३ पुस – जिल्लाको जुकोट गाविस–१ की ३६ वर्षीया भागीदेवी शाही महिनाबारी भएको सोमबार चार दिन भयो । उनी अहिले घरनजिकैको छाउपडी गोठमा बसेकी छन् । जीउ ढाक्ने सामान्य कपडा र गोठको खरले मुटु कमाउने चिसोलाई छेक्न सकेको छैन । अत्यधिक चिसोमा छाउपडी गोठमा बस्नुपर्दा उनी बिरामी परेकी छन् ।

जाडो याममा भागीजस्ता थुप्रै महिला तथा किशोरीले महिनावारीका बेला यस्तै कष्ट सामना गर्नुपर्छ । छाउपडीविरुद्ध अनेक अभियानको प्रचार गरिए पनि यहाँका महिलाले यसबाट मुक्ति पाएका छैनन् ।

छाउपडी गोठमा ओछ्याउने र ओडने ‘छुई’ हुन्छ ‘छोइन्छ’ भनेर घरपरिवारले कपडा नदिने चलन छ । स्थानीय महिला धनकलाले भनिन्, ‘गोठमा एउटा पातलो कपडाको साहारामा पाँच दिनसम्म बस्नुपरेको छ ।’

जिल्लाको उच्च भागमा हिमपात भएपछि छाउ भएका महिलाले निकै कष्ट बेहोर्नुपरेको छ । जिल्लाका दहकोट, विच्छया, रुगिन, साप्पाटा, जुकोट, छतारा, वाई, काँडालगायतका गाविसका महिलाले यस्तो समस्या भोग्नुपरेको महिला सञ्जालकी अध्यक्ष कमलकुुमारी शाहले बताइन् ।

महिनावारी भएको समयमा गोठमा बस्दा चिसोका कारण सन्चो नभएको बिच्छ्याकी होइजाली रोकायाले बताइन् । चिसोका कारणले सुदूर तथा मध्यपश्चिमका पहाडी जिल्ला बाजुरा, अछाम, बझाङ, डोटी, हुम्ला, मुगु, कालिकोटलगायतका महिलालाई महिनावारी भएका बेला समस्या हुने गरेको छ ।

महिनामा सात दिन चिसोमा बस्नुपर्ने र सातै दिन चिसोमै नुहाउनुपर्ने भएका कारण महिलामा बाथरोग, निमोनिया, दम र छालासम्बन्धी रोग लाग्ने खतरा रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

अविवाहित महिलालाई रजस्वलाको अवधिमा झनै कडा नियम पालन गर्न लगाइन्छ । विवाहितले पाँच दिन टाढिए पुग्ने मान्यता अविवाहितका लागि भने सात दिनसम्म लागू हुन्छ ।
छुई हुने मान्यताकै कारण महिनावारी भएकी महिलालाई घरबाहिर एक्लै बस्नुपर्दा बलात्कृत हुनुपर्ने, जंगली जनावरको सिकार हुने, सर्पले टोक्ने गरेका घटनासमेत सार्वजनिक हुने गरेका छन् ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us