बर्थिङ सेन्टर निर्माण ढिलाइले सेवाग्राही मर्कामा

काठमाण्डु टुडे २०७१ पुष ३ गते २:४४ मा प्रकाशित

सुनसरी, ३ पुस– सुनसरी जिल्लाको पकलीमा तीन वर्षअघि निर्माण भइसक्नुपर्ने प्राथमिक स्वास्थ्य केन्द्रसहितको बर्थिङ सेन्टर भवन अहिलेसम्म नबन्दा सेवाग्राही मर्कामा परेका छन् ।

बर्थिङ सेन्टर तथा स्वास्थ्य चौकी भवन निर्माणमा प्रयोग गरिएको सम्पूर्ण सामानसमेत गुणस्तरहीन भएको भन्दै स्थानीय राजनीतिक दल र सेवाग्राहीले निर्माण कम्पनी इन्द्र्रेणी विल्डर्स कन्स्ट्रक्सन कम्पनीविरुद्ध दुई वर्षअघि मुद्दा परे पनि कुनै कारबाही नभएको स्थानीयवासीले गुनासो गरेका छन् ।

सहरी विकास विभागको प्रत्यक्ष निगरानीमा सरकारले १ करोड १२ लाख ५४ हजार २ सय ७१ रुपैयाँको लागतमा १४ महिनाभित्रमा निर्माण पूरा गर्ने गरी ठेक्का दिएको भए पनि निर्माण कम्पनीको चरम लापर्वाहीका कारण हालसम्म पनि निर्माण हुन सकेको छैन ।

कम्पनीका सञ्चालक प्रेम लामाले लिएको ठेक्कामा दिनेश खतिवडाले काम गर्दै आएको भए पनि विभिन्न विवाद र गुणस्तरहीन सामान प्रयोग भएको उजुरी पर्न थालेपछि खतिवडा काम छाडेर बेपत्ता भएपछि अहिले दिनेश लामाले भवन निर्माणको काम गर्दै आएका छन् ।

जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने अस्पताल भवन निर्माणमा भएको चरम लापर्वाहीका कारणले सेवाग्राहीले उचित समयमा सेवा प्राप्त गर्न नसक्दा धेरैले हैरानी खेप्नुपरेको पकली स्वास्थ्य चौकीका प्रमुख सूर्यकुमार थापाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us