जब मामाले कलियुगको कंश बनेर भान्जाको अपहरण गरे…

काठमाण्डु टुडे २०७१ पुष २ गते १५:२९ मा प्रकाशित

सिरहा, २ पुस- एक महिनाअघि अपहरणमा परेका लहान नगरपालिकाका यातायात व्यवसायी गुरुदयाल महतोलाई सकुशल मुक्त गर्न नेपाल प्रहरी सफल भएको छ ।

गत कात्तिक २९ गते पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको पन्सेरास्थित अमहाबाट अपहरणमा परेका लहान नगरपालिका–३ निवासी ३५ वर्षीय महतोलाई ३१ दिनको प्रयासपछि गएराति अपहरणकारीको चङ्गुलबाट मुक्त गराउन प्रहरी सफल भएको हो ।

प्रहरीले अपहरण गरी सीमापार भारत पु¥याइएका महतोको उद्धार मात्र गरेन, अपहरणको मुख्य योजनाकार गुरुदयालका मामा (काकाको सालो) भारतको डुवोरवोना ग्रामपञ्चायत बस्ने ४५ वर्षीय महेन्द्र महतोलाई समेत पक्राउ गरेको छ ।

मुक्त गराइएका महतो तथा अपहरणमा संलग्न भएका उनको मामालाई आज सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो ।

यसैगरी, अपहरणमा संलग्न महेन्द्रका भाइ वीरेन्द्रलाई समेत भारतीय प्रहरीको सहयोग र समन्वयमा पक्राउ गरी भारतमै राखिएको वरिष्ठ प्रहरी उपरीक्षक रमेश भट्टराईले जानकारी दिए ।

भारतको मधुवनी जिल्लास्थित कुरिवन गाउँमा एक घरमा बन्धक बनाएर राखेको अवस्थामा नेपाल र भारतको संयुक्त प्रहरीको टोलीले छापा मारी महतोलाई मुक्त गराएको भट्टराईले जानकारी दिए ।

अपहरणकारीले रु एक करोड फिरौती माग्दै नदिए ज्यान मार्ने धम्की दिएका थिए । महतोले प्रयोग गर्ने मोबाइलबाटै अपहरणकारीले फिरौती माग्ने गरेको प्राविधिक रुपमा जानकारी पाएपछि प्रहरीले मोबाइल पछ्याउँदै निगरानी बढाएको थियो ।

अपहरित महतोलाई मुक्त गराउन सप्तरीका प्रहरी नायब उपरीक्षक केदार ढकालको नेतृत्वमा प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो, क्षेत्रीय प्रहरी कार्यालय विराटनगर, अञ्चल प्रहरी कार्यालय राजविराज, जिल्ला प्रहरी कार्यालय सप्तरी, जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहान समेतको प्रहरी टोलीले आधुनिक प्रविधिको प्रयोग गर्दै सक्रिय भइलागेको र यस कार्यमा भारतीय प्रहरीलेसमेत उल्लेखनीय मद्दत गरेको उनको भनाइ थियो ।

अपहरणमुक्त महतोले अपहरणकारीले आफूलाई हातखुट्टा र आँखामा पट्टी बाँधेर राखेको तथा बेला बेलामा वेहोस बनाउने सुई लगाउने गरेको सञ्चारकर्मीलाई बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us