
काठमाण्डु, २ पुस–देशभित्र पर्याप्त रोजगारीको अवसर नभएकाले दैनिक करिब एक हजार ५०० नेपाली रोजगारीको लागि विदेशिने गरेका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार आव २०५०–०५१ देखि २०७०–०७१ सम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जाने कूल नेपालीहरुको सङ्ख्या ३४ लाख ४७ हजार ५६ पुगिसकेको छ ।
जसमा पुरुष सङ्ख्या ३३ लाख ३२ हजार ८७६ रहेको छ भने महिलाको सङ्ख्या एक लाख १४ हजार १८० रहेको छ । यसबाहेक शिक्षा, व्यापार, विवाह आदि कारणले विदेश जानेहरु तथा भारतमा रोजगारीका लागि गएका नेपालीहरुको सङ्ख्यालाई अभिलेख गर्न सकेको खण्डमा यो सङ्ख्यामा अझै वृद्धि हुने देखिन्छ ।
बि.स.२०६८ को जनगणना प्रतिवेदनले पनि देश बाहिर रहेका नेपालीहरुको कूल सङ्ख्या १९ लाख १७ हजार ९०३ जसमध्ये पुरुष ८६.७ र महिलाको सङ्ख्या १३.३ प्रतिशत रहेको देखाएको छ ।
श्रम तथा रोजगार मन्त्रालयका सचिव सूर्य श्रेष्ठले वैदेशिक रोजगारमा सङ्लग्न कामदारको अधिकार संरक्षण र प्रवद्र्धन गर्न बनेको वैदेशिक रोजगार नीति, २०६८ र वैदेशिक रोजगार ऐन, २०६४ ले वैदिशिक कामदारका सबै विषयलाई समेट्न नसकेको हुँदा त्यसलाई समयअनुसार संशोधन गर्नुपर्ने बताए ।
वैदेशिक रोजगार प्रवद्र्धन वोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले चाहेर वा नचाहेर वैदेशिक रोजगारीका लागि विदेश जाने युवाहरु वैदेशिक रोजगारीबाट फर्किएपछि उनीहरुलाई नेपालमै पुनःस्थापना गरिनुपर्ने धारणा राखे । रासस