राष्ट्रसङ्घका सहायक महासचिवले भेटे नेम्वाङलाई

काठमाण्डु टुडे २०७१ पुष २ गते १२:०३ मा प्रकाशित

काठमाण्डु, २ पुस–संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव हाओलिङ झुले संविधानसभा भवनमा शिष्टाचार भेट गरेका छन् ।
त्यस अवसरमा उनीहरूबीच संविधान लेखन प्रक्रिया, प्रगति र कार्ययोजनाका साथै योजनाबद्ध आर्थिक विकासलगायत संयुक्त राष्ट्रसङ्घ र नेपालबीचका सहकार्यका विविध पक्षबारे विचारविमर्श भएको व्यवस्थापिका संसद्का सहायक प्रवक्ता सुदर्शन कुँइकेलले बताए ।

नेपाल सरकार र अल्पविकसित, भूपरिवेष्टित तथा साना टापू राज्यहरूका लागि संयुक्त राष्ट्रसङ्घीय उच्च प्रतिनिधिको कार्यालयले संयुक्त रूपमा राजधानीमा आयोजना गरेको ‘एसिया–प्रशान्त क्षेत्रका अल्पविकसित मुलुकहरूको स्तरोन्नति तथा सन् २०१५ पछिका विकासका कार्यसूची’ विषयक एसिया–प्रशान्त क्षेत्रका अल्पविकसित मुलुक र संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीहरू सम्मिलित मन्त्रीस्तरीय बैठकमा भागलिने सिलसिलामा सहायक महासचिव हाओलिङ झु गत सोमबार नेपाल आएका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us