प्रचण्ड र बाबुराम पक्षबीच बोलचाल बन्द

काठमाण्डु टुडे २०७१ पुष २ गते ११:५४ मा प्रकाशित
prachanda-baburamनुवाकोट, २ पुस- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता बाबुराम भट्टराईबीचको सहमतिमा केन्द्रको विवाद मिले पनि नुवाकोटमा भने कार्यकर्ताबीच बोलचालै बन्द भएको छ ।

दुई पक्षबीच केन्द्रमा कुरा मिल्दासमेत जिल्लास्तरीय नेताहरु आपसमा बोलचालसमेत नगर्दा पार्टी गतिविधि ठप्पजस्तै भएको छ ।

समानान्तर कमिटी गठन गरेको भन्दै भट्टराई पक्षधर केही जिल्ला नेतामाथि संस्थापन पक्षले निलम्बनको कारबाही गरेपछि विवाद बढेको हो ।

पार्टी हितविपरीत गतिविधि गरेको भन्दै अध्यक्ष हिरानाथ खतिवडाको प्रस्तावमा जिल्ला कमिटीले भट्टराई पक्षधर राजकुमार रेग्मी, केशव पुडासैनी, गणेश अधिकारी, नवराज ढुंगाना, गोकर्णनाथ न्यौपाने, रजमान तामान, मधु दवाडीलगायतमाथि एक महिनाअघि कारबाही गरेको थियो ।

लगत्तै भट्टराई पक्षले राजमुमार रेग्मीको संयोजकत्वमा ६२ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको थियो ।
रेग्मीले आफूहरुमाथि वैचारिक मतभिन्नताका आधारमा पूर्वाग्रह राखेर कारबाही गरेका कारण लाज मानेर संस्थापनका नेताहरु बोल्नै छाडेको बताए ।

‘उहाँहरुलाई लाज लागेको होला’, रेग्मीले भने, ‘भेटघाट हुँदा औपचारिक रुपमा हाइहेलो गर्नु त परै जाओस् संस्थापनका भन्ने साथहीहरु अर्कोपट्टि फेर्केर हिंड्ने गर्नुभएको छ ।’

उनले संस्थापन पक्षले फरक मत राख्नेलाई सँगै लिएर हिंड्नुपर्नेमा अराजनीतिक व्यवहार प्रदर्शन गरेको आरोप लगाए ।

तर संस्थापन पक्षले भने भट्टराई पक्ष नै तर्किएर हिंड्ने गरेको भन्दै आरोप अस्वीकार गरेको छ ।

संस्थापन पक्षीय जिल्ला नेता नवीन पुडासैनीले भट्टराई पक्षकै कारण संवादहीनता बढेको बताए ।

अध्यक्ष प्रचण्डले आइतबार सुरु केन्द्रीय समिति बैठकमा वर्तमान केन्द्रीय समितिलाई आयोजक समितिमा रुपान्तरण गरी आगामी माघ अन्तिम साता विशेष महाधिवेशन गर्ने र त्यहींबाट नेतृत्व हस्तान्तरण प्रक्रिया आरम्भ गर्ने प्रस्ताव राखेसँगै विराटनगर राष्ट्रिय सम्मेलनबाट चुलिएको एमाओवादी विवाद साम्य भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us