
सोलुखुम्बु, २ पुस–सोलुखुम्बुको बाकु र देउसा गाविसका हरेक घरधुरीले प्रतिदिन १० मिनेट श्रमदान गर्न थालेपछि त्यसको सकरात्मक प्रभाव देखिएको छ ।
त्यहाँ दैनिक १० मिनेटका दरले मासिक एक घरबाट एक जनाले एक दिन समाजको काममा खर्च गर्नुपर्छ । अहिलेसम्म त्यस्तो श्रमदान धेरैजसो सरसफाइका लागि खर्च गर्ने गरिएकाले गाउँको सरसफाइमा निकै सुधार भएको सामाजिक परिचालक जुनिता मगरले बतइन् ।
इको हिमाल नाम गैरसरकारी संस्थाले गाउँमा काम गर्न थालेपछि उसैको अवधारणाअनुसार गाउँलेहरुले एक दिन १० मिनेट श्रमदानको काम थालेका हुन् ।
दैनिक १० मिनेटको श्रमदानले प्रत्येक टोलमा फोहर फाल्ने खाल्डो निर्माण भइसकेको छ भने गाविसभित्रको बाटो पनि सफा रहनुका साथै पायक पर्ने विभिन्न २० भन्दाबढी स्थानमा चौतारो निर्माण गरिएको बाकु–५ निवासी गोपाल घिमिरेले बताए ।
गाउँका लागि सरसफाइ, पानीका मुहान सरसफाइ, वृक्षारोपण, चौतारो निर्माणलगायतका काम गरिसकेका उनीहरु एक दिनमा १० मिनेट श्रमदानले सामाजिक सद्भावसमेत बढाएको बताउँछन् । रासस