अख्तियारको पत्र आएपछि दिए २४ शिक्षकले राजीनामा

काठमाण्डु टुडे २०७१ पुष २ गते १०:२९ मा प्रकाशित

खोटाङ, २ पुस–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यापन अनुमतिपत्रको विषयमा छानबिन सुरु गरेपछि जिल्लाका २४ शिक्षकले राजीनामा दिएका छन् ।

आयोगले अध्यापन अनुमतिपत्रका विषयमा छानबिन थालेको महिना दिनमै प्रावि तहका १८, निमाविका पाँच र एकजना प्राविधिक प्रशिक्षकले राजीनामा दिएका हुन् ।

मङ्सिर एक देखि २९ गतेभित्रमात्र जिल्लाका २४ शिक्षकको राजीनामा आएको जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद भट्टराईले बताए । भट्टराईका अनुसार कतिपय पेन्सन भएका शिक्षकले राजीनामा दिएका छन् भने कतिपय प्रमाणपत्र नभएका शिक्षकले राजीनामा दिएका छन् ।

शिक्षा कार्यालयका अनुसार गत सोमबारसम्मको समय सीमाभित्र राजीनामा दिने शिक्षकमा अधिकांश राहत दरबन्दीमा काम गर्ने रहेका छन् । ‘नक्कली प्रमाणपत्रका भरमा काम गरिरहेका कतिपय शिक्षकले अझै पनि राजीनामा नदिएको सूचना आएको छ” भट्टराईले भने ।’
कार्यालयका अनुसार प्रमाणपत्र भएका र नभएका दुवैको राजीनामा आएको पाइएको छ ।    आयोगको महाशाखा टङ्गाल काठमाडौँ र पूर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुटाले कात्तिक २९ गतेभित्रमा कागजात सङ्कलन गर्न भन्दै जिल्ला शिक्षा कार्यालयलाई असोज ५ गते पत्र पठाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us