
मुस्ताङ, २ पुस–जलविद्युत्को नहरमा हिउँ जमेपछि तीन दिनदेखि मुस्ताङ अन्धकार बनेको छ । विद्युत् आपूर्ति ठप्प भएपछि टेलिफोन, मोबाइल, इन्टरनेट र स–साना उद्योग सञ्चालनमा आउन सकेका छैनन् ।
जिल्लाको एक मात्र सञ्चारमाध्यम रेडियो मुस्ताङको प्रसारण सेवासमेत अवरुद्ध भएको छ । सोमबार रातिदेखि परेको भारी हिमपातका कारण टुकुचेस्थित २४० किलोवाट क्षमताको चोखोपानी लघु जलविद्युत् आयोजनाको नहर र रिजर्भ ट्याङ्कीमा हिउँ जमेकाले विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण मुस्ताङ वितरण केन्द्रका प्रमुख सनप्रसाद थकालीले जानकारी दिए ।
उनका अनुसार म्याग्दीको तातोपानीबाट जोडेको राष्ट्रिय प्रसारण लाइनलाई पनि हिउँले क्षति पुराएका कारण समस्या उत्पन्न भएको हो । “लेते गाविसको आसपासमा राष्ट्रिय प्रसारण लाइनमा समस्या भएको खबर आएको छ, त्यसमा प्राविधिक खटेका छन्” प्रमुख थकालीले भने । चोखोपानी लघु जलविद्युत्मा दुई दिनदेखि १० जना कामदार लगाएर हिउँ फुटाउने प्रयास गरिए पनि त्यो सफल हुन सकिरहेको छैन ।
दार्चुलामा चार दिनदेखि विद्युत् सेवा अवरुद्ध
भारतबाट आयातीत गरिएको विद्युत् सेवा अवरुद्ध हुँदा चार दिनदेखि सदरमुकाम खङ्लगालगायत दार्चुलाका ग्रामीण भेगको विद्युत् सेवा बन्द रहेको विद्युत् प्राधिकरणले जनाएको छ ।
भारतबाट आयात गरिएको जिल्लाका आधा दर्जन गाविस र अपी नगरपालिका केही वडामा विद्युत् सेवा अबरुद्ध भएको विद्युत् प्राधिकरण दार्चुलाले जानकारी दिएको छ । जिल्लाका लाली, उकु, दत्तु, शङ्करपुर, धौलाकोट, हुती र पिपलचौरी गाविस तथा सदरमुकाम खलङ्गाका केही भागलगायत अपी नगरपालिकाको गल्फै, धौलीगाड, किम्तडी, धापलगायत क्षेत्रमा विद्युत् सेवा अवरोध भएको हो ।
भारतमै भारी हिमपातले प्रमुख प्रसारण लाइन बिग्रिएकाले विद्युत् सेवा अबरुद्ध रहेको दार्चुला वितरण केन्द्रले जनाएको छ । विद्युत् सेवा अबरुद्ध हुँदा दार्चुलाको जनजीवन थप प्रभावित भएको छ ।
विद्युत् सेवा नहुँदा सरकारी कार्यालय, व्यापार–व्यवसाय र आम जनजीवन प्रभावित बनेको छ । विद्युत् नहुँदा जिल्लामा रहेका दुईवटा एफएम रेडियो पनि बन्द भएका छन् ।