किन तनावग्रस्त छ भोजपुर बजार ?

काठमाण्डु टुडे २०७१ पुष २ गते ८:१४ मा प्रकाशित

काठमाण्डु, २ पुस– भोजपुरमा मंगलबार भएको विवाद र झडपपछि प्रशासनले एमाओवादीका पूर्व सभासदलाई पक्राउ गरेको छ ।
एमालेका जिल्ला उपसचिव तथा साङपाङ र देउराली गाविसका सचिव खड्ग पौडेलले उजुरीमा एमाओवादीका पूर्व सभासद सुदन किरातीसहित नेपाली कांग्रेसका सचिव हेमन्त मुकारुङ र नेकपा मालेको सचिव अनिल बस्नेतलाई मंगलबार राति प्रहरीले समातेको हो ।
पौडेलले आफूमाथि उनीहरुले हातपात गरेको आरोप लगाएका छन् । एमाले बाहेकका ८ दलले सचिव पौडेलले गाविसमा अनियमितता गरेको बताएका छन् । तीन जना नेता पक्राउ परेपछि भोजपुर बजारमा नाराजुलुस भएको छ । बजार बिहानैदेखि तनावग्रस्त छ ।
एमालेले अरु दलमाथि हैकम जमाउँदै अपमान गरेको भन्दै बाँकी आठ दलले विरोध गरेका हुन् । आठ दलमा नेपाली काँग्रेस, एमाओवादी, संघीय समाजवादी पार्टी नेपाल, नेकपा माओवादी, नेकपा माले, राप्रपा, राप्रपा नेपाल, खम्बुवान राष्ट्रिय मोर्चा छन् ।
षडानन्द नगरपालिकाको उदघाटनको विषयदेखि दलहरूबीच तनावपूर्ण अवस्था सिर्जना भएको हो ।
प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले राष्ट्रसेवक कर्मचारीमाथि हातपात गर्ने संलग्न पक्षलाई कानुनी कारबाही गर्ने बताएका छन् ।
नवघोषित दिंला षडानन्द नगरपालिकाको कार्यालय उद्घाटनको विषयमा नेकपा एमालेले दलीय सहमति विपरित एकलौटी काम कारबाही संचालन गरेको गुनासो गर्दै एमाले बाहेकका जिल्लामा क्रियासिल ८ दलले भने विरोध गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us