
काठमाण्डु, २ पुस– अन्तर्राष्ट्रिय बजार मूल्य घटिसक्दा पनि नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको मूल्य घटाउने कुनै छाँट देखाएको छैन । आयल निगमको अटेरी लम्बिइरहँदा बुधबार विद्यार्थी संगठनहरुले अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउनुपर्ने माग गरेको छन् ।
अन्तर्राष्ट्रिय बजार भाउको तुलनामा नेपाल आयल निगमले मूल्य नघटाएको भन्दै विद्यार्थी संगठनहरुले त्यसका लागि दवाब दिने जनाएका हुन् ।
प्रमुख ११ विद्यार्थी संगठनहरुको बुधबार बसेको बैठकले अन्तर्राष्ट्रिय बजार अनुसार पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने, त्यसै अनुसार यातायातको भाडा र उपभोग सामग्रीको मूल्य पनि घटाउनुपर्ने माग गरेको छ ।
नेपाल विद्यार्थी संघका सदस्य युपी लामिछानेले त्यसका लागि निगम र सरकारलाई दवाब दिने बताए । बैठकपछि विद्यार्थी नेताहरु निगमको कार्यालय पुगेर ज्ञापन पत्र बुझाएका छन् ।
त्यस्तै, सयममा संविधान निर्माणका लागि दवाब दिने समेत बैठकले निर्णय गरेको पनि लामिछानेले बताए ।
बैठकले समयमा संविधानका लागि अनेरास्ववियूले थालेको हस्ताक्षर अभियानमा संकिलत हस्ताक्षरलाई सामूहिक रुपमा संविधानसभाका सभाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाउने, सभासद्हरुको ध्यानाकर्षणका लागि पुस(८ गते संविधानसभा भवन अगाडि निद्रा जुलुस निकाल्ने र पुस(१३ गते पेसागत संघरसंगठन र अन्य सरोकारवालाहरुसँग सडक बहस चलाउने कार्यक्रम तय गरेको छ ।
संयुक्त बैठकले सामूहिक बलात्कारको शिकार भएकी पूजा बोहरालाई न्याय दिन र दोषीलाई कारवाहीको माग गरेको छ । त्यस्तै पाकिस्तानमा भएको आतंककारी हमलाप्रति पनि खेद व्यक्त गरेको छ ।