
इलाम, २ पुस– तत्कालीन शाही नेपाली सेनाले हानेको गोली अहिले पनि ज्यानमा बोकेर हिंडिरहेका छन् इलामका राम राई र तेजबहादुर राई । उपचार गराउन आर्थिक अभाव भएपछि उनीहरु शरीरमा गोलीका छर्रा बोकेर हिँडिरहेका हुन् ।
सशस्त्र द्वन्द्वका क्रममा सेनाले हानेको गोली लागेका मङ्गलबारे–३ तपेवाका राम र जोगमाई–२ का तेजबहादुर अहिले पनि शरीरमा गोली बोकेर हिँड्न विवश छन् । रामको दुवै खुट्टामा गोली छ भने तेजबहादुरको दाहिने खुट्टामा एउटा गोली छ ।
‘उपचारका लागि धेरैतिर धायौँ तर उपचार हुन सकेन्’, रामले भने । ‘चिसोमा र पानीमा भिज्दै हिँड्यो भने पनि शरीर दुख्छ, हिँड्न पनि सकिँदैन,’ तेजबहादुरले आफ्नो व्यथा यसरी पोखे । ठूल्ठूला अस्पताल गएर उपचार गर्न पनि सकिएन । तेजबहादुरको खुट्टामा सेनाले हानेको एलएमजीको गोली लागेको छ ।
स्वदेशमा उपचार सम्भव नभएपछि विदेशमा गएर उपचार गराउन आर्थिक अभाव भएको हो । स्वदेशमा उपचार गराउँदा ज्यान नै जोखिममा पर्ने भएको उनीहरू बताउछन् । ‘विदेश जाउँभन्दा पैसा छैन्, उपचार नगराउँदा पीडादायी जीवन बिताउनुपर्ने अवस्था छ’, दुखेसो पोख्दै रामले भने ।
आर्थिक अवस्थासमेत कमजोर भएकाले उपचार गर्न नसकेको रामले बताए । एनेकपा माओवादीको नेतृत्व सरकारमा रहँदा पनि आफूहरूको उपचारमा सहयोग नभएको उनीहरूले गुनासो गरे । रासस