मर्नु न बाच्नु बनायो अनसनले…

काठमाण्डु टुडे २०७१ पुष २ गते ६:०९ मा प्रकाशित

राजविराज, २ पुस–आमरण अनशनमा बसेका कोसी पम्प चन्द्र नहर सिँचाइ व्यवस्थापन डिभिजन नं २ राजविराजका पाँचजना दैनिक ज्यालादारी कर्मचारीको अवस्था चिन्ताजनक बन्दै गएको छ ।

आफूहरुको माग पूरा नगरेको भन्दै कर्मचारी गत आइतबारदेखि कार्यालय परिसरमा आमरण अनशनमा बसेका छन् ।

आमरण अनसनमा बसेका दैनिक ज्यालादारी कर्मचारीहरु महेश्वरलाल दास, हिरा साह, राजकुमार यादव, लक्ष्मण साह हलुवाई र सोनेलाल मण्डलको अवस्था चिन्ताजनक बन्दै गएको हो ।

दैनिक ज्याला पाउने कामदार श्रमिकलाई निजामती सेवा ऐन २०४९ तथा नियमावली २०५० ले तोकेको उमेर हद निजामती सेवामा नियुक्तीबाहेकका व्यक्तिहरुलाई सरकारी श्रोतबाट भुक्तानी हुनेगरी ज्यालादारी तथा करार सेवामा नराख्ने भनी सिंँचाइ विभागले गरेको निर्णय यथाशिघ्र खारेज हुनुपर्ने, १० वर्षदेखि ३० वर्षसम्म अटुटरुपमा दैनिक काम गर्ने दक्ष कामदार श्रमिकलाई उमेरको हद लगाई हटाउँदा एकमुष्ट पारिश्रमिक रकम उपलब्ध गराउनुपर्ने माग गर्दै उनीहरु आमरण अनसनमा बसेका हुन् ।

आन्दोलित कर्मचारीहरुले मंसिर १५ गतेदेखि २६ गतेसम्म रिले अनसनमा बसेका थिए । पछिल्लोपटक सिंँचाइ विभागले दैनिक ज्यालादारी कर्मचारीमध्येका २९ जनालाई उमेरको हद लगाएर हटाएपछि कर्मचारीहरु आन्दोलित भएका हुन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us