आधा जलेको शव प्रहरी नियन्त्रणमा !

काठमाण्डु टुडे २०७१ पुष २ गते ४:०९ मा प्रकाशित

पर्सा, २ पुस– भौराटार गाविसबाट गएराति जलाइँदै गरेको एक युवकको शव प्रहरीले नियन्त्रणमा लिएको छ । भौराटार– ५ फुलकौल निवासी जयलाल चमारको १८ वर्षीय छोरा धर्मेन्द्र चमारको शव जलाउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

धर्मेन्द्रको मृत्यु कालगतिले नभई अस्वभाविक ढंगले भएको आशंकामा प्रहरीले आधा जलेको शव नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ ।

धर्मेन्द्रको शवलाई परिवारजनले गुपचुप तरिकाबाट दाहसंस्कार गर्न लागेको सूचनाका आधारमा प्रहरीले फुलकौल गाउँको पूर्वमा रहेको खोलाको तिरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए ।

प्रहरीले नियन्त्रणमा लिएको शवलाई परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पठाएको प्रवक्ता ओलीले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us