घलेम्दीखोला जलविद्युत्लाई जुट्यो लगानी 

काठमाण्डु टुडे २०७१ पुष २ गते ३:५९ मा प्रकाशित

म्याग्दी, २ पुस– जिल्लाको उत्तरी नारच्याङ गाविसमा निर्माण हुन् लागेको चार मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ । घलेम्दी हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको आयोजनालाई एनएमबी बैंक, प्रभु बैंक र कैलाश विकास बैंकले संयुक्त रुपमा ४६ करोड ४० लाख रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भएको छ ।

कूल ७१ करोडको लगानीमा निर्माण हुने आयोजनाको बाँकी संस्थापक सेयरबाट जम्मा गर्ने लिमिटेडले जनाएको छ । संस्थापक सेयरमा म्याग्दीदेखि प्रवासमा रहेको म्याग्देली र अन्य नेपालीले पनि लगानी गरिरहेको घलेम्दीका कार्यालय प्रमुख विमल रिजालले जानकारी दिए ।

ऋण लगानी गर्ने सम्झौतापत्रमा घलेम्दीका तर्फबाट कार्यकारी अध्यक्ष किशोर सुवेदी र बैंकका तर्फबाट एनएमबी बैंकका संस्थापक बैंकिङ प्रमुख नवीन मानन्धरबीच हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार एनएमबी बैंकले ३० करोड ४० लाख, प्रभु बैंकले १० करोड र कैलाश विकास बैंकले ६ करोड लगानी गर्नेछन् । आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

लगानी जुटेपछि आयोजनाको निर्माण प्रक्रियालाई तीव्र बनाउन लागिएको घलेम्दीका कार्यकारी अध्यक्ष सुवेदीले बताए । आयोजना सम्पन्न गर्न घलेम्दीखोलाबाट १ हजार ५ सय मिटर सुरुङ मार्गमार्फत निलगिरी खोलाको किनारमा निर्माण हुने पाउर हाउसमा पानी खसाल्ने योजना छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us