पाँच करोडमा बन्यो नहर

काठमाण्डु टुडे २०७१ पुष २ गते ३:२४ मा प्रकाशित

मोरङ, २ पुस– बाढीजन्य क्षति पुनर्निमार्ण योजना विराटनगरले पाँच करोड रुपैयाँको लागतमा सात किमी नयाँ नहर निर्माण सम्पन्न गरेको छ । सरकारले सप्तकोसी नदीको बाढीले क्षतिग्रस्त जमिनमा सिँचाइ गर्न सुनसरीको श्रीपुर, हरिपुर गाविसमा नहर निर्माणको काम सम्पन्न गरेको कार्यालयले जनाएको छ ।

सरकारको ४० प्रतिशत र एसियाली विकास बंैकको ६० प्रतिशत संयुक्त लगानीमा आव २०६७/६८ मा सात किमी नहर निर्माणको काम सुरु गरिएको थियो । पूर्वाञ्चल सिँचाइ डिभिजन नं २ ले सो नहर निर्माण गरेको हो । सो नहरबाट करिब दुई हजार हेक्टर जमिन सिञ्चित गर्ने सिँचाइ डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख चन्द्रभूषण मल्लिकका अनुसार सप्तकोसीको सिपेच पानीलाई एकीकृत गरेर सो नहरबाट हरिपुर, श्रीपुर, लौकहीका जमिनमा सिँचाइ सुविधा पुग्ने छ ।

हरिपुर जल उपभोक्ता समितिका सचिव मनमोहन झाले निर्माण सम्पन्न भएको नहरले दुई हजार हेक्टर जमिन सिञ्चित गर्ने बताए । पाँच वर्षअघि सप्तकोसी नदीमा आएको बाढीले श्रीपुर, हरिपुर, लौकही, पश्चिम कुसाहालगायतका ग्रामीण क्षेत्रका खेतीयोग्य जमिन क्षतिग्रस्त भएको थियो ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us