पर्सा, २ पुस– पर्साका महिला बिस्तारै सौन्दर्य पेसातर्फ आकर्षित हुन् थालेका छन् । वीरगन्ज उपमहानगरपालिका वडा नम्बर–१६ शिवनगरमा सौन्दर्य अथवा ब्युटिपार्लरको पसल सञ्चालन गरेर बसेकी साकिरा खातुनलाई अहिले भ्याइनभ्याइ छ ।
त्यसैगरी वीरगन्जको माइस्थानमा ब्युटिपार्लर खोलेर बसेकी सकुन्तला थापालाई पनि फुर्सदै छैन । उनको पसलमा पनि महिलाको बिहानैदेखि भीड लाग्ने गर्दछ ।
थोरै लगानीमा राम्रो कमाइ गर्न सकिने भएकाले सीप सिकेर आफूले यसलाई व्यवसाय बनाएको स्थानीय ब्युटिपार्लर सञ्चालिका उनको भनाइ छ । महिनामा सबै गरेर पाँचदेखि आठ हजारसम्म कमाइ हुने गरेको उनले बताइन ।
चाडपर्व र विवाहको समयमा आफूले बढी कमाउने गरेको पनि उनको तर्क छ । उनले महिलालाई सौन्दर्यसम्बन्धी तालिम पनि दिने गरेको जानकारी दिइन ।
सौन्दर्यको पेसा सञ्चालन गर्दा आत्मनिर्भर बन्न सकिने अवस्था देखेकाले आफूले तीन महिनादेखि यस विषयमा तालिम लिइरहेको बारा ककडी–४ घर भई वीरगन्जमा बस्दै आएकी शान्ति खरेलले बताइन ।
पर्सामा महिलालाई यो पेसा सिकाउने संघसंस्थाको उल्लेख्य रहेको छ । यस्तै एउटा संस्थाकी सञ्चालिका रेखा घिमिरेले हालसम्म चार हजार महिलालाई आफूले यस्तो सीप दिइसकेको जानकारी दिइन । रासस