
काठमाण्डु, २ पुस– सत्तारुढ दलका तीन नेताको उपचारमा सरकारी ढुकुटीको पाँच करोड रुपैयाँ सकिएको छ । जबकि सरकारले प्रत्येक नेपालीलाई औषधि उपचारका लागि वार्षिक ३ सय ४८ रुपैयाँ मात्रै छुट्याएको छ ।
सरकारी तथ्यांकअनुसार दैनिक ६ सय गरिब र निमुखा जनता अस्पताल पुग्नै नपाएर ज्यान गुमाइरहेका छन् । अस्पतालसम्म पुगेका सयौं सर्वसाधारणले पनि पैसाको अभावले उपचार पाइरहेका छैनन् ।
विभिन्न रोग तथा दुर्घटनाबाट नेपालमा दैनिक करिब ८ सयको ज्यान गुम्छ । त्यसमध्ये ६ सय अस्पताल पुग्न नपाएरै मर्छन् । ‘गाउँमा अस्पताल नै छैन,रोग लागिहाल्यो भने तत्कालै ल्याइपुर्याउने अवस्था पनि छैन,त्यसैले अधिकांश ग्रामीण बासिन्दा उपचार अभावमै मृत्युवरण गर्छन्,’ स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले भने ।
हालसम्म प्रधानमन्त्री सुशील कोइरालाको उपचारमा सरकारी ढुकुटीबाट १ करोड ६२ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ भने एमाले अध्यक्ष केपी ओलीको उपचारमा पनि १ करोड २६ लाख ३५ हजार सकिएको छ ।
पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचार हुदै गरेको र बिल नआइसकेो भए पनि उनको उपचारमा पनि करिब १ करोड खर्च भएको हुन सक्ने अर्थ मन्त्रालयको दाबी रहेको छ ।
नयाँ पत्रिका दैनिकबाट