एमाले सभासद्ले दिए मेडिकल कलेजलाई सम्बन्धन नदिए संविधानसभा रोक्ने चेतावनी

काठमाण्डु टुडे २०७१ पुष २ गते १:३५ मा प्रकाशित

काडमाण्डु, २ पुस– माघ ८ भित्र संविधान जारी गर्न भ्याइनभ्याइ हुनुपर्ने बेला नेकपा एमालेका सभासद् भने प्रस्तावित मनमोहन मेडिकल कलेजलाई सम्बन्धन दिलाउन लागिपरेका छन् । उनीहरुले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिलाउन संविधानसभा बैठक नै रोक्ने चेतावनी दिएका छन् ।

एमालेका १ सय ४४ जना सभासद्ले ‘सात दिनभित्र सम्बन्धन नदिए संविधानसभा बैठक रोक्ने’ चेतावनीसहितको ज्ञापनपत्र सभाध्यक्ष सुवास नेम्वाङलाई बुझाएका हुन् । जसमा एमालेका प्रमुख नेताबाहेक अधिकांश सभासद्को हस्ताक्षर छ ।

२ हजार ४ सय सेयरधनी रहेको उक्त कलेजमा अधिकांश सभासद् एवं तिनका आफन्तको लगानी छ ।

सरकारले चिकित्सा नीति नबन्दासम्म सम्बन्धन रोकेको अवस्थामा सभासद्का तर्फबाट दबाब दिने उद्देश्यले हस्ताक्षर अभियान चलाइएको हो । एमालेका सभासद्हरु राजेन्द्र पाण्डे र भरतमोहन अधिकारी नेतृत्वको टोलीले हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाएका थिए ।

नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us