
ललितपुर, १ पुस– गत महिना विश्व स्वास्थ्य सङ्गठनले निकालेको प्रतिवेदनअनुसार ७५ प्रतिशत आत्महत्याका घटना विकासोन्मुख देशमा हुने गरेको बताइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनअनुसार विश्वमा हरेक वर्ष आठ लाखभन्दा बढी मानिसले आत्महत्या गर्ने गरेको बताइएको छ । आत्महत्या गर्नेमध्ये सबैभन्दा बढी १५ देखि २९ वर्ष उमेर समूहका मानिस रहेको तथ्याङ्कमा उल्लेख छ ।
सन् २०१२ को तथ्याङ्कअनुसार आत्महत्या गर्ने देशकोे सूचीमा सबैभन्दा माथि गुयना पर्दछ । त्यसैगरी क्रमिक रुपमा उत्तर कोरिया, दक्षिण कोरिया, श्रीलङ्का, लिथुआनिया, सुरिनाम, मोजाम्बिक, नेपाल र तान्जानीया पर्दछन् भने नेपाल आत्महत्या गर्ने मुलुकको सूचीमा आठौँ नम्बरमा परेको छ ।
नेपालमा भएको आत्महत्याको दशवर्षे तथ्याङ्कलाई अध्ययन गर्ने हो भने आव २०६१÷६२ देखि आव २०७१÷७२ सम्ममा २९ हजार ९०५ जनाले आत्महत्या गरेको पाइन्छ । आत्महत्या गर्नेमध्ये पुरुषभन्दा ४ दशमलव ८ प्रतिशतले महिला बढी रहेका छन् ।
आव २०७०÷७१ मा वैदेशिक रोजगारको सिलसिलामा गएका ९४ जना युवाले विदेशी भूमिमा आत्महत्या गरेको वैदेशिक रोजगार प्रवद्र्धन केन्द्र अनामनगरका नरेश धमलाले जानकारी दिए ।
मानसिक रोग अस्पताल लगनखेलका मनोरोग विशेषज्ञ डा अनन्तका अनुसार आत्महत्या विभिन्न कारणले हुने गरेको भएपनि सबैभन्दा बढी डिप्रेसनका कारण हुने गरेको छ ।
उनका अनुसार डिप्रेसनबाट हुने आत्महत्यालाई नियन्त्रण गर्नका लागि डिप्रेसन भएका बिरामीले समयमा नै मनोरोग विज्ञसँगको सल्लाह लिइ अघि बढ्नु पर्दछ । रासस