
प्युठान, १ पुस–जिल्ला कृषि विकास कार्यालय प्युठानले जिल्लाका चार सय ४१ स्थानको माटो परीक्षण सुरु गरेको छ ।
जिल्लामा व्यावसायिक र उन्नत जातका कृषि उपजहरू उत्पादन गर्न माटोको परीक्षण गर्न लागिएको कार्यालयले जनाएको छ ।
माटो विकास निर्देशनालय, काठमाडौँ र क्षेत्रीय माटो नमूना परीक्षण केन्द्र बाँके खजुराको सहयोगमा जिल्लामा पहिलो पटक माटो परीक्षण सुरु गरिएको वरिष्ठ कृषि विकास अधिकृत शिवनारायण चौधरीले बताए ।
अधिकृत चौधरीले भने ‘जिल्लाको सबै ठाउँको माटो परीक्षण गर्न लागिएको यो पहिलो पटक हो, माटो परीक्षणपछि जिल्लामा व्यावसायिकखेती गर्न सहयोग मिल्ने छ ।’ कुन ठाउँमा के फलाउँदा राम्रो उत्पादन दिन्छ भन्नेबारे पनि परीक्षण हुने बनले बताए ।
जिल्लामा माटोको नमूना सङ्कलन गरी केन्द्र र क्षेत्रमा परीक्षणका लागि पठाइने कार्यालयले जनाएको छ । जिल्लाका ४२ गाविस र एक नगरपालिकाको सबै वडामा नमूनास्वरूप एक स्थानको माटो सङ्कलन गरी नमुना परीक्षण गरिने छ । माटो परीक्षण संयोजक तथा कार्यालयका कृषि प्रसार अधिकृत रामचन्द्र पोख्रेलले ‘माटोको परीक्षणसँगै कृषि पकेट क्षेत्र घोषणा र उत्पादनमा सहयोग पुग्ने बताए ।’