
गोरखा, १ पुस–बुंकोट र नाम्जुङ गाविसको सिमानामा पर्ने बही खोलाको किनारमा मापदण्ड बेगर फिरफिरे संचालनमा छन् ।
विभिन्न बालुवा खानीबाट उत्खनन गरिएका बालुवा धुनका लागि स्थानीय व्यवसायीले दर्ता नगरी फिरफिरे सञ्चालन गरेका हुन् ।
बहीखोला किनारका फिरफिरे बोर्लाङ, बुंकोटघाटका मोहनकुमार श्रेष्ठले सञ्चालन गरेका हुन् । करिब छ महिनादेखि उक्त फिरफिरे सञ्चालन हुँदै आएको छ । फिरफिरेभन्दा केही माथि स्थानीय बासिन्दा रामकुमार श्रेष्ठले पनि अर्को फिरफिरे सञ्चालन गरिरहेका छन् ।
बिनादर्ता सञ्चालनमा आएको फिरफिरेसम्म नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रले थ्री फेज लाइनको व्यवस्था गरिदिएको छ । अवैध फिरफिरेमा लाइन जडान गरेको भन्दै स्थानीय बासिन्दाले विरोध गरेका छन् । आफ्नै लालपुर्जा भएको जग्गामा रहेको बालुवाखानीको बालुवा धोएर बेच्ने प्रयोजनका लागि फिरफिरे जडान गरिएको श्रेष्ठले जिकिर गरे ।
खोला प्रदूषित भएको र जथाभावी उत्खनन गर्दा पहिरोलगायत प्रकोपको जोखिम बढेको स्थानीय बासिन्दाको तर्क छ । “खोलामा बालुवा धोएपछि पानी धमिलो हुन्छ”, स्थानीयवासी गोकर्ण ढकालले भने, “पानी सधैँ धमिलो भएकाले नुहाउन, लुगा धुन, गाईवस्तुलाई खुवाउन सकिएको छैन ।” रासस