पुनः बहालीको माग गर्दै कर्मचारी आमरण अनशनमा

काठमाण्डु टुडे २०७१ पुष १ गते ८:०२ मा प्रकाशित

राजविराज, १ पुस–कोसी पम्प चन्द्र नहर सिँचाइ व्यवस्थापन डिभिजन नं २ कार्यालयबाट  हटाइएका  तीसभन्दा बढी  ज्यालादारी कर्मचारीलाई पुनःबहालीको माग गर्दै आमरण अनशनमा बसेका छन् ।

गत कात्तिक १ गतेदेखि हटाइएका ज्यादारी कर्मचारीले विभिन्न माग राख्दै आए पनि सिँचाइ विभाग र सम्बन्धित निकायले सुनुवाइ नगरेको भन्दै कर्मचारीले आमरण अनशन थालेका हुन् । आइतबारदेखि गरिएको आमरण अनशन मंगलबार पनि जारी छ । लामो समयदेखि कार्यरत सो पम्पका ३२ कर्मचारीलाई उमेरको हद देखाई हटाइएको थियो ।

ज्यालादारीमा कार्यरत र हटाइएका कर्मचारीसम्मिलित सङ्घर्ष समिति सिँचाइ विभाग र कोसी पम्प चन्द्र नहर सिँचाइ व्यवस्थापन डिभिजनमा समेत पाँचबुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै यही मङ्सिर ११ गतेदेखि आन्दोलनमा उत्रेका हुन् ।

ज्ञापनपत्रमा श्रमिकको कामलाई निरन्तरता दिनुपर्ने, १० वर्षदेखि ३० वर्षसम्म निरन्तर काम गरेका दक्ष श्रमिकलाई उमेर हद लगाई हटाउँदा एक मुष्ट एक वर्ष बराबर दुई महिनाको खाइपाई आएको तलब रकम उपलब्ध गराइनुपर्ने, संवेदनशील क्षेत्रमा काम गर्ने श्रमिकको जीवन बिमा तथा दुर्घटना बिमासम्बन्धी सम्झौता कार्यान्वयन हुनुपर्ने तथा कर्मचारीको तलबअनुसार दैनिक ज्यालादारीलाई पनि पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग उल्लेख गरिएको छ ।

कर्मचारी लामो समयदेखि आन्दोलनमा उत्रेपछि कार्यालयका कामकाज प्रभावित भएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us