
पर्सा, २८ मंसिर–वीरगन्ज–पथलैया सडकखण्डको परवानीपुरमा आज बिहान भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्यु हुनाका साथै अर्का एकजना घाइते भएका छन् ।
वीरगन्जबाट अमलेखगन्जतर्फ जाँदै गरेको ना४ख २२६४ नम्बरको ट्याङ्करले पथलैयाबाट वीरगन्जतर्फ आउँदै गरेको बा११च ७४६२ नम्बरको कारलाई परवानीपुरमा ठक्कर दिँदा उछिट्टिएको कारले च्यापिएर साइकल चालकको मृत्यु भएको हो । चालक पर्साको चोरनी गाविस वडा नं ५ निवासी वीरेन्द्र राम रहेको बताइएको छ ।
कारले साइकललाई च्याप्दा साइकलमा सवार रहेका पर्साकै लिपनिविर्ता–८ निवासी अजय सिंह घाइते भएको प्रहरीले जनाएको छ । कारले च्याप्पिएर गम्भीर घाइते भएका राम र सिंहलाई उपचारका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल लगिएकामा उपचारको क्रममा रामको मृत्यु भएको थियो ।