सुशील दा माने सम्माननीय सुशील दाजु र केपी भा माने प्रिय केपी भाइ । सुशील दा परे मुलुकका प्रधानमन्त्री, केपी भा परे सुशील दाको कुर्सीका खतरनाक दाबेदार । यस घडीमा सुशील दा र केपी भा अमरत्व प्राप्त गर्न मरिमेटेर लागिपरेका छन् । सुशील दा ठान्छन्— आफ्नो मुखले संविधानको घोषणा गर्न पाए म अजम्मरी हुन्थेँ । केपी भा ठान्छन्— एकबारको जुनीमा प्रधानमन्त्री बन्न पाए देह त्याग गरेपछि म सरासर बैकुण्ठ जान्थेँ ।
राजनीतिमा यो विद्रूप गाईजात्रा हो । कामकुरो एकातिर छ, सुशील दा र केपी भा आ–आफ्नो स्वार्थको कुरुप कुम्लो बोकेर लखरलखर हिँडिरहेछन् ठिमीतिर । गर्नुपर्ने काम संविधान बनाउनु हो । उत्पीडिनलाई निर्मूल पार्ने संविधान । अन्यायलाई नाश गर्ने संविधान । विभेदका जरा उखेल्ने संविधान । सबै नेपालीको साझा राज्य र समावेशी राष्ट्रियता बनाउने संविधान । साधनश्रोत, अवसर र प्रतिष्ठामा समानता कायम गर्ने संविधान । तर यतातिर न सुशील दालाई मतलब छ न केपी भालाई । सुशील दालाई मानौँ समय र जनआकांक्षाको एकरत्ति चेत छैन । उनी ठाउँ न ठहर र ताल न तुकको तोरिलाहुरे पाराले रटना गर्छन्— माघ ८ गते संविधान आउँछ । म ढुक्क छु । कस्तो संविधान ? कसको संविधान ? विभेद र अन्यायलाई मास्ने संविधान कि जोगाइरख्ने संविधान ? अभिजात वर्गको स्वार्थरक्षा गर्ने पत्रु संविधान कि आम जनगणले हक, अवसर र इज्जत पाउने नयाँ संविधान ? यी यावत् कुराबाट सुशील दा बिल्कुल बेखबर छन् । मानौँ समयको शृङ्खलामा उनी सत्चालीस सालतिर कतै अड्किएका छन् । मानौँ संविधान भनेको ज्वलन्त जनआकांक्षालाई संवोधन गर्ने जिउँदो लिखत होइन, यो केवल कागजको खोस्टो हो । संविधान खोस्टै होस्, कोई बात नहीँ । तर सुशील दालाई आफ्नै मुखारविन्दबाट संविधानको घोषणा गर्नु छ । अन्याय ज्यूँकात्यूँ रहोस् । द्वन्द्व कायम होस् । जनजीवन नारकीय भइरहोस् । क्वै बात नहीँ । सुशील दालाई अमरत्व चाहिएको छ । अमरत्व, अमरत्व र केवल अमरत्व ।
अनि केपी भाको कुरो ? केपी भाको फतरफतर झनै अड्बाङ्गे छ । अध्यक्ष बनेपछि उनले प्वाक्क भनेथे— मेरो जीवन धेरै छैन । तसर्थ मलाई काम गर्न हतार छ । हो, उनी रातोदिन हतारमा छन् । उनका अर्जुन दृष्टि अहोरात्र प्रधानमन्त्रीको कुर्सीमा एकाग्र छन् । यता चित्तमा तृष्णाको ताप छ, उता कुर्सीमा आनन्दको मुहान छ । केपी भा पलपल छटपटीमा छन् । त्यसैले उनी हरपल असङ्गत र हास्यास्पद कुरा गरिरहन्छन् । उनी भन्छन्— ल है, फास्ट ट्रयाकबाट संविधान । ल है, संघीयतालाई थाती राखरे संविधान । ल है, संघीय आयोगलाई संघीयताको भाउँतो सुम्पिएर संविधान । ल है, प्रदेशको नामबिनाको संविधान । ल है, प्रदेशको सीमाङ्कन, लन्ठ्याङ–लुन्ठुङ आदि बिनाको संविधान । संविधान झुर, झुत्रो, पत्रु, फ्याङलो जस्तोसुकै होस्, झटपट एक थान संविधान । बस् । केपी भाको यो हुटहुटी, यो आतुरी, यो बेचैनी, यो अनर्गल प्रलाप र यो असङ्गत फतरफतरका पछिल्तिर कुरो एउटै छ । त्यो हो, प्रधानमन्त्री बन्नु । बरा केपी भाको दु:ख विकराल छ । संविधान नबनी सुशील दा कुर्सी नछाड्ने, केपी भा एकबारको जुनीमा त्यो कुर्सीमा नबसी नछाड्ने । परेन कि फसाद !
सुशील दा र केपी भाका पाङ्दुरे सपनाका कुरा सुन्दा लाग्छ, यी दुई महापुरुष आफूलाई शायद टोपीधारी राजा ठान्छन् । र ठान्छन्— म जे गर्छु, त्यो बिना प्रश्न सदर हुन्छ । म जे हुँ सर्वेसर्वा मै हुँ । यस भूतलमा मेरो इच्छातर्फ औँलो उठाउने हुती कसैमा छैन । संविधान कागजको खोस्टै किन नहोस्, रैती दुनियाँले त्यसलाई चुपचाप स्वीकार गर्छ । संविधान बाहिर रङ्गीन बोक्रो र भित्र पूरापूर खोक्रो किन नहोस्, हुस्सु प्रजागणले नतमस्तक भई त्यसलाई ग्रहण गर्छ । म छु त्यसैले यो जगत् छ । तसर्थ यो नाथे जगत् मेरो इच्छानुसार चल्न विवश छ ।
सुशील दा एवं केपी भाजी, यो सात साल होइन । यो सत्र साल होइन । यो छयालीस साल होइन । यो त नेपाल भूमिमा क्रान्ति र आन्दोलनका अदम्य लहरहरु उठेपछिको नेपाल हो । यो निमुखा, दबिएका, हेपिएका, ठगिएका र बक् बन्द गरिएका अगणित मानिस अज्ञानता, अभाव, दबाब र वञ्चनाको गाढा निन्द्राबाट ब्युँझेको नेपाल हो । यो त साधारण मानिस सडकमा उभिएर हाकाहाकी म, मेरो देश, मेरो राज्य, मेरो हक, मेरो पहिचान, मेरो प्रतिष्ठा, मेरो अस्मिता भन्न थालेको नेपाल हो । रिसानी माफ होस् र हेक्का रहोस् सुशील दा एवं केपी भाजी, अहंकारको चुचुरोमा उभिएर जनतालाई धूलोका कण ठान्दा तानशाह ज्ञानेन्द्रको सिंहासन घोप्टियो । त्यसलाई घोप्ट्यायो कसले जी ? तुच्छ स्वार्थ र मैमत्त अहंकारको बशमा परेर समयको धड्कन नबुझ्दा ज्ञानेन्द्रको वनबास भयो । सम्माननीय सुशील दा एवं प्रिय केपी भा, जागेका नेपाली जनतालाई हजुरहरुको त्यस्तो दुर्गति देख्न पटक्कै रहर छैन । तसर्थ आँखा खोलुँ, समयको धड्कनलाई बुझुँ, जनगणलाई झारपात नठानुँ, मैमत्त अहंकारको घोडाबाट कठोर यथार्थको धरातलमा ओर्लुँ । यसो गरे जिन्दगीमा अमरत्व नाथेको केही दु:ख हुँदैन ।
र यो पनि पढ्नुहोस