भारतका बेश्यालयमा कलिला नेपाली किशोरीको माग

काठमाण्डु टुडे २०७१ मंसिर २८ गते ३:१८ मा प्रकाशित

धनगढी, २८ मंसिर– भारतका बेश्यालयमा कलिला उमेरका किशोरीको माग बढेपछि दलालले बेचबिखनको तरिका परिवर्तन गर्न थालेका छन् ।
पहिलापहिला सीमा क्षेत्रमा रिक्सा, टाँगा, साइकल र मोटरसाइकलमा चेलीलाई बसाएर सीमा कटाउने गरेका दलालहरुले बेचबिखनको तरिका परिवर्तन गरेका छन् ।
‘अहिले कलिला उमेरसमूहका किशोरीको बढी बेचबिखन भइरहेको छ’, माइती नेपालकी कैलाली संयोजक शिवचरण चौधरीले भने, ‘भारतबाट कलिला किशोरीको बढी माग आएको सुनिएको छ ।’
उनले कम उमेरका किशोरीलाई लोभ्याएर लैजान सजिलो हुने र भारतका वेश्यालयमा पनि राम्रो रकम पाउने भएकाले यस्तो गरिएको हुन सक्ने बताए ।
‘सामान्य लेखपढ गरेका किशोरीलाई जागिर वा विवाहको प्रलोभनमा पार्न सकिने भएकाले पनि त्यस्तो उमेर समूहका चेलीको बेचबिखन बढेको हो’, चौधरीले भने ।
उक्त संस्थाले दुई साताअघि मात्र भारतको बिहारबाट बेचिएका चार किशोरीको उद्दार गरेको थियो ।
‘भारतको बिहारमा १७ वर्षीया युवतीको गर्भवती रहेको अवस्थामा उद्दार गरेका छौं’, अरु पनि धेरै कम उमेरमै भारतमा बेचिएका युवती त्यस क्षेत्रमा रहेको जानकारी आएको छ’, चौधरीले भने ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us