एजेन्सी– बलिउडकी एक अभिनेत्रीले भारतमा बढ्दै गरेको महिला हिंसा र बलात्कारका घटना रोक्न प्रभावकारी कदम नचालेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको तीव्र आलोचना गरेकी छन् ।
अभिनेत्री सेनाज ट्रेजरीवालले मोदीलाई खुला पत्रमार्फत यौन शोषण र बलात्कारका घटना न्युनीकरणका लागि गम्भीर हुन अपिल गरेकी छन ।
पत्रमा एकपछि अर्को गरी बलात्कारका घटना बढेकामा उनले चिन्ता व्यक्त गरेकी छन् । ती अभिनेत्रीले आफू १३ वर्षकै उमेरमा बलात्कारको शिकार भएको खुलासा पनि गरेकी छन् । आफ्नी एक साथीको १६ वर्षकै उमेरमा रेलमा बलात्कार भएको प्रसंग पनि चिठीमा समेटेकी छन् ।
‘देशको राजधानीमा दिउँसै हिंड्ने स्वतन्त्रता पनि छैन’, पत्रमा उनले भनेकी छन्, ‘के यो लज्जास्पद विषयमा तपाईंलाई लाज लाग्दैन ?’ पत्रमा उनले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग गरेकी छन् । ‘म सबैसँग यो आग्रह गर्दछु कि अहिलेको कानुन फेरेर बलात्कारीलाई मार्ने कानुन बनाउनुपर्छ ।’
पत्रमा उनले बलिउड सुरपरस्टार साहरुख खान, अमिताभ बच्चन, अमीर खान, क्रिकेटर सचिन तेन्दुलकर र उद्योगी अनिल अम्बानीलाई पनि बलात्कारीमाथि कडा कारबाही हुने व्यवस्था लागू गर्न अपिल गरेकी छन् ।