
काठमाण्डु, २६ मंसिर– नेपालका सम्भवतः पहिलो पेसेवार चलचित्र निर्देशक जगन्नाथ तिमिल्सिनाको बुधबार बिहान निधन भएको छ ।
केही दिनदेखि सामान्य बिरामी रहेका हाँडीगाउँ निवासी तिमिल्सिना बिहान शौचालयबाट कोठामा फर्कंदा कोठाको ढोकामा एकाएक लडेपछि अचेत अवस्थामै चाबहिलस्थित मेडिकेयर अस्पताल पु¥याइएको थियो । बिहान करिब ५ बजे चिकित्सकले निजलाई मृत भइसकेको घोषणा गरेका थिए ।
पारिवारिक स्रोतका अनुसार विसं १९९९ मा धर्मपथ (पहिलेको पुरानो भन्सार)मा जन्मिएका र धेरै वर्षदेखि शान्त बस्न चाहने तिमिल्सिना कुनै रोगव्याधिबाट परै थिए । तिमिल्सिनाले भारतीय चर्चित सिनेकर्मी जया भादुरीसँगै शिक्षा आर्जन गर्दा उत्कृष्ट कलाकारका रुपमा स्वर्ण पदकसमेत हासिल गरेका थियो ।
भारतस्थित पुनाबाट कलाकारिता शिक्षा आर्जन गरेपछि नेपाल चलचित्र संस्थानमा लामो समय चलचित्र निर्देशकका रुपमा काम गरेका तिमिल्सिनाले ‘मनको बाँध’, सिन्दूर, ‘हिजो आज भोलि’, ‘परिवर्तन’, ‘माइतीघर’लगायत केही चलचित्रमा कलाकारको भूमिका पनि निर्वाह गरेका थियो ।
भारतका लब्धप्रतिष्ठित कलाकार देवानन्दसँग नजिक तिमिल्सिनाले नेपालमा छायाकृत ‘हरेराम हरेकृष्ण’ चलचित्रको सहनिर्देशकको भूमिका निर्वाह गरेका थियो । स्व तिमिल्सिनाका श्रीमती र तीन छोरा छन् ।