जहाँ किसानलाई पाडी सित्तैमा बाँडिन्छ…

काठमाण्डु टुडे २०७१ मंसिर १९ गते ११:१२ मा प्रकाशित

Padi
भक्तपुर, १९ मंसिर– भक्तपुर जिल्लालाई भैँसी पालनको नमुना जिल्ला बनाउने उद्देश्यले जिल्लाको चित्तपोल गाविसमा तीन वर्षअघि सुरु गरेको पाडी वितरण कार्यक्रम प्रभावकारी भएपछि कृषक भैँसी पालनतर्फ आकर्षित भएका छन् ।

चित्तपोल गाविस कार्यालयको रु एक लाखको अनुदान र जिल्ला पशुसेवा कार्यालयको प्राविधिक तथा पाडी ढुवानी खर्चबाट सुरु भएको पाडी वितरण कार्यक्रम प्रभावकारी भएपछि कृषक यसतर्फ आकर्षित भएका हुन् ।

जिल्ला विकास समिति स्थानीय विकास कोष भक्तपुरले भैँसी पालनको प्रभावकारिताबारे जानकारी लिन स्थानीय विकास कोषका कार्यकारी सचिव राजन शर्माको नेतृत्वमा सञ्चारकर्मीसहितको टोलीले गत बुधबार गरेको अनुगमनमा कृषकले थप पाडी माग गरेका छन् ।

भक्तपुरमा भैँसी पाल्नेभन्दा गाई पाल्नेको सङ्ख्या बढ्दै गएपछि भैँसीपालनको सङ्ख्या बढाई युवा स्वरोजगार बढाउने, मासु एवम् दूध आपूर्ति बढाउने उद्देश्यले भक्तपुरलाई नमुना भैँसीपालन जिल्ला बनाउन चित्तपोल गाविसले भैँसीको पाडी वितरण गरेको थियो ।

आर्थिक अवस्था कमजोर भएका कृषकको आर्थिक अवस्था उकास्न मद्दत पु¥याउन सञ्चालन गरेको नमुना पाडी वितरण कार्यक्रममा चित्तपोल गाविसका २० घर परिवारलाई पाडी वितरण गरिएको थियो ।

पाडी वितरण कार्यक्रमअन्तर्गत गाविसले पाडी खरिद गर्न प्रतिघर पाँच हजार र पुशसेवा कार्यालयले पाडी ढुवानीका लागि प्रतिघर रु दुई हजार सहयोग गरेको थियो । एकपटक पाडी माउ भएर नब्याएसम्म कृषकले त्यसलाई बिक्री गर्न नपाइने नियम छ ।

जिल्ला विकास समिति स्थानीय विकास कोषले गाविसमा गठन गरेको सामुदायिक महिला समूहमा आबद्ध महिलाले अनुदानमा लिएको पाडी ब्याएपछि दूध बिक्री गरेर आर्थिक अवस्था उकास्न कृषकलाई सहज भएको कोषका सचिव शर्माले बताए ।

भैँसीको रोगको उपचारका लागि कोषको छात्रवृत्ति अनुदानमा भुवन खड्काले प्राविधिकको शिक्षा लिएर गाउँमै पशु रोगको उपचार गर्ने जनशक्ति पनि भएपछि कृषक थप उत्साहित भएका छन् ।

स्थानीय सामुदायिक भेला व्यवस्थापन समितिका सदस्य रामकृष्ण ढकालले चित्तपोल गाविस खुलालगाउँ भेतासीका कृषकले पाडी वितरण कार्यक्रमबाट उन्नति गरेपछि अन्यत्रका कृषकले पनि पाडी माग गरेको बताए ।

स्थानीय गाविस कार्यक्रम सहजकर्ता रोशनी कुँवरले पाडी वितरण कार्यक्रमबाट भैँसी पाल्ने कृषकको जीवनस्तर उकास्न सजिलो भएको, अनुदानमा आएको पाडी अहिले रु ८० हजारदेखि रु एक लाखसम्म मूल्य आउने भएपछि कृषक यसतर्फ आकर्षित भएर थप पाडी माग गरेको उहाँले बताए ।

सिर्जनशील महिला समूहकी व्यवस्थापक देवकी थापाले गाविसको एउटा गाउँमा पहिला १० वटामात्रै भैँसी भएकामा अहिले कृषक यसतर्फ आकर्षित भएपछि गाउँमै ३० वटा भँैसी पुगिसकेको बताए ।

कृषकले दूध एक लिटरको रु ४५ देखि रु ६० सम्ममा बिक्री गर्ने गरेको उनीहरूले बताए ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us