
काठमाण्डु, १९ मंसिर– संवाद समितिको प्रतिवेदन संविधानसभामा पुगेपछि के गर्ने भनेर अहिल्यै स्पष्ट गर्नुपर्ने एमाओवादीको प्रस्तावले प्रमुख तीन दलका नेताबीच चर्काचर्की परेको छ ।
संवाद समितिले स्वविवेकी अधिकार प्रयोग गरेर प्रतिवेदन पठाउने जिम्मा संवाद समितिका सभापति बाबुराम भट्टराईलाई दिएको भोलिपल्टै उक्त प्रतिवेदन संविधानसभामा कसरी अगाडि बढाउने भन्ने स्पष्ट गर्न एमाओवादीले प्रस्ताव गरेपछि शीर्ष नेताबीच चर्काचर्की परेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको तीन दलको बैठकमा चर्काचर्की परेपछि संवाद समितिका सभापति भट्टराईले सभाध्यक्ष सुवास नेम्वाङलाई प्रतिवेदन बुझाउन सकेनन् ।
संवाद समितिको बुधबारको बैठकले स्वविवेकी अधिकार प्रयोग गरेर प्रतिवेदन बनाउन भट्टराईलाई जिम्मा दिएको थियो । भट्टराईले कस्तो प्रतिवेदन बनाउने भनेर सभाध्यक्ष नेम्वाङको उपस्थितिमा तीन दलका नेताहरुको सहमति लिन खोजेका थिए ।
भट्टराईको आग्रहपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संवाद समितिको प्रतिवेदन संविधानसभामा पुगेपछि कसरी अघि बढ्ने भन्नेबारे सहमति हुनुपर्ने प्रस्ताव राखेका थिए । दाहालको प्रस्तावपछि प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओली जंगिएको स्रोतले बतायो ।
अन्नपूर्णपोस्ट दैनिकबाट