मार हान्नेकै घरमा बलिको विरोध

काठमाण्डु टुडे २०७१ मंसिर १८ गते २:११ मा प्रकाशित

बारा, १८ मंसिर–सयौं राँगालाई मार हान्न नियुक्ति पाउने मारकका परिवार भने गढीमाई बलिबाट असन्तुष्ट देखिएका छन् । उनीहरुले मारकलाई मार नहान्न घरबाटै दबाब दिने गरेका छन् । aagadhimai

घरका मान्छे खुसी छैनन्, मार हान्न छोडिदेऊ भन्छन्, बारा सुखिपथरा–७ का सुरेन्द्र पासवानले भने, ‘तर मन मान्दैन, आत्मसन्तुष्टिका लागि निरन्तरता दिँदै आएको छु ।’

पासवानले पछिल्ला ६ वटा गढीमाई मेलामा मार हान्दै आएका छन् । यसपालि सातौंपटक मार हानेका पासवानले अब भने बलि नदिने सोच बनाएका छन् । ‘यो नै अन्तिमपटक हो, अब छाड्छुु’, उनले भने ।

बाबु वैद्यनाथ चौधरीकै कारण गढीमाई मेलामा मार हान्न थालेका बारा जितपुरका श्यामलाई पनि घरका सदस्यले रोक लगाउने गरेका छन् । परिवारले रोक लगाए पनि घरमा खबरै नगरी गढीमाईमा मार हान्ने गरेको श्याम बताउँछन् ।

‘घरका मान्छेले किन पाप गरेको भन्दै कराउँछन्’, श्यामले भने, ‘घरमा नभनी मार हान्ने गरेको छु, मेरो मन पनि सन्तुष्ट छैन ।’ अहिलेसम्म चारपटक गढीमाईमा मार हानिसकेका उनी पनि यसपटककै बलिलाई अन्तिम बनाउने निर्णयमा पुगेका छन् ।

पछिल्ला तीन मेलामा मारक बनेका रौतहट फतुवा हर्सा–७ का सुरेशकुमार यादवको परिवारलाई पनि पशुमाथि खुकुरी र तरबार चलाएको मन पर्दैन । देवीको आशीर्वादका लागि आफूले बलि दिँदै आएको यादवको भनाइ छ । ‘मार हानेर देवीको आशीर्वाद पाउँछु, सोचेको पनि पूरा हुन्छु, यादवले भने, घरको मान्छेलाई यो सब मन पर्दैन, नजा भनेर भन्छन् तर पनि आउँछु ।’

 अन्नपूर्णपोस्ट दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us