किन अस्वीकार गरे कोइरालाले बस्नेतलाई रथी बनाउन ?

काठमाण्डु टुडे २०७१ मंसिर १८ गते १:४० मा प्रकाशित

काठमाण्डु, १८ मंसिर– प्रधानमन्त्री सुशील कोइरालाले नेपाली सेनाका उपरथि नरेश बस्नेतलाई रथी (लेफ्टिनेन्ट जनरल) पदमा बढुवा गर्ने सैनिक मुख्यालयको प्रस्ताव अस्वीकृत गरेका छन् । सैनिक मुख्यालयले बस्नेतलाई विशेष पद सिर्जना गरी रथी पदमा पदोन्नति गरी विकास निर्माण निर्देशनालयकै जिम्मेवारी सुम्पन रक्षा मन्त्रालयमा प्रस्ताव पठाएको थियो ।

sushil

प्रधानमन्त्री कोइरालाले रक्षामन्त्रीसमेतको हैसियतमा गरेको निर्णय उद्धृत गर्दै रक्षा मन्त्रालयले सेनालाई मंसिर १४ गते पत्र लेखी बस्नेतको बढुवा प्रक्रिया अघि बढाउन नसकिएको जानकारी दिएको छ ।

सैनिक स्रोतका अनुसार पत्रमा सैनिक ऐन २०६३ मा विशेष पद सिर्जना गरी बढुवा गर्ने व्यवस्था नभएकाले बस्नेतको बढुवा गर्न नसकिएको उल्लेख छ । उनको करारमा नियुक्ति भएकाले पनि पदोन्नतिको निर्णय गर्न नसकिएको आधार खुलाएर सेनालाई पत्र लेखिएको छ ।

प्रधानसेनापति गौरवशमशेर राणाले दुर्गम पहाडी क्षेत्रमा बाटो निर्माणलगायतका काममा दख्खल रहेका बस्नेतलाई उनको विशेषज्ञता प्रयोग गर्ने उद्देश्यले बढुवा सिफारिस गरेका थिए ।

सेनाका प्रवक्ता सहायक रथी जगदीशचन्द्र पोखरेलले भने, ‘संस्थाको आवश्यकताका कारण सेनाले उहाँको बढुवाको प्रस्ताव गरेको थियो । यसबारे नेपाल सरकारको निर्णय जंगी अड्डामा आइसकेको छैन ।’

अन्नपूर्णपोस्ट दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us