
काठमाण्डु, १५ मंसिर– नागरिक समाजले ९५ वर्षीय साहित्यकार एवं संस्कृतिविद् सत्यमोहन जोशीलाई सरकारको उपस्थितिमा ‘शताब्दी पुरुष’ को उपाधि दिएको छ ।
त्रिमूर्ति निकेतनद्वारा आफ्नो दसौँ त्रिमूर्ति दिवसका अवसरमा यहाँ आयोजित ‘सत्यमोहन जोशी महोत्सव’मा उपप्रधानमन्त्री वामदेव गौतम र कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले संयुक्त रुपमा जोशीकै उचाइबराबर पाँच फिट अग्लो सप्तनागजडित ताम्रपत्र प्रदान गरी उनलाई सम्मान गरे ।
महोत्सव समिति २१ देशमा पनि गठन गरिएको छ । सो अवसरमा ‘शताब्दी पुरुष’ जोशीलाई रु पाँच लाख राशि पनि अर्पण गरियो । ‘शताब्दी पुरुष’सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पनि लगिने भएको छ । सो अवसरमा जोशीलाई २४ मुलुक र नेपालका १४ अञ्चलबाट गरी १०१ अभिनन्दनपत्र पनि प्रदान गरियो । दुबोको माला पहि¥याइएका
जोशी समारोहमा दुलहा जस्तै देखिन्थे ।
जोशीले नेपाली कला, साहित्य, संस्कृति, भाषा आदि क्षेत्रको अध्ययन, अनुसन्धान र सिर्जनात्मक लेखन तथा अनेकौं सङ्घसंस्थाको सञ्चालन, निर्देशन र नेतृत्व गगरेका छन् । उनी नेपाल भाषा एकेडेमीका कुलपति तथा नेपाल प्रज्ञाप्रतिष्ठानका आजीवन सदस्य पनि छन् । तीन पटक मदन पुरस्कार विजेता जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथासङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित छन् ।
उहाँले नै संस्थागत रुपमा सहभागी भई पहिलो चोटि कर्णाली अञ्चलका साहित्य र संस्कृतिलाई उजागर गर्नाका साथै कलाकार अरनिकोलाई राष्ट्रियस्तरमा चिनाउन योगदान दिएका थिए । प्रथम सगरमाथा आरोही एडमन्ड हिलारीको देश न्युजिल्यान्ड पुग्ने उनी पहिलो नेपाली हुन् ।
विसं १९७७ वैशाख ३० गते ललितपुरमा जन्मिएका जोशीको बुढ्यौली उमेरमा पनि स्वस्थ्य भई ठमठम हिँड्ने र विभिन्न सभासमारोहमा सहभागी हुने स्वभाव छ ।
सो अवसरमा उपप्रधानमन्त्री गौतमले ‘शताब्दी पुरुष’ डा जोशीलाई सरकारले पनि सम्मान गर्नुपर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा आफूले लैजाने जानकारी दिए ।
नेपालका जातजातिबाट माथि उठी सिँगो नेपालीको परिचय बनाउनुभएका जोशीमा एक्लैले नै नेपाल र नेपालीकै परिचय दिने व्यक्तित्व भएको उनले बताए ।
कानुनमन्त्री आचार्यले शताब्दी पुरुष महोत्सवलाई निरन्तरता दिनुपर्ने माग गरे । उनको आग्रहलाई स्वीकार गरी निकेतनका अध्यक्ष इन्दिरा प्रसाईँले अबदेखि हरेक वर्ष जोशीको जन्मोत्सव मनाइने जानकारी दिए ।
साहित्यकार मोदनाथ प्रश्रितले उनको स्वास्थ्य, सक्रियता, पैदलयात्रामा रमाउने स्वभाव तथा भाषा–साहित्य–संस्कृतिमा गरिररहेको नेतृत्वप्रति सम्मान दिँदै वाङ्मय क्षेत्रले आफ्नो पाँच वर्ष आयु थप गरी उनलाई शतायु सम्मान दिएको छ भने ।
रासस