
इलाम, १५ मंसिर– इलामको पूर्वी भारतसँग जोडिएको पशुपतिनगर नाकाबाट सन् २०१४ को जनवरीदेखि अक्टोबरसम्ममा ३० जना युवती हराएका छन् ।
भारतसँग सीमा जोडिएको उक्त नाकाबाट १० महिनामा ३० जना युवती हराएको माइती नेपाल पशुपतिनगरमा उजुरी परेको छ । हराएकामध्ये १३ जनालाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको माइती नेपालका पशुपतिनगरका संयोजक होम ढकालले जनाए ।
भारतका दार्जिलिङ, सिलिगुडी, सिक्किमबाट भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई उद्धार गरिएको हो ।
दलालको फन्दामा परेर आफूहरू भारतका विभिन्न कोठीमा पुग्न बाध्य भएको उद्धार गरिएका ती युवतीले बताएका छन् ।
भारतमा बेचिनेमा १२ वर्षदेखि ४० वर्ष उमेर समूहका महिला रहेको माइती नेपालले जनाएको छ । दलालहरूले रोजगारीको प्रलोभन देखाउने तथा नक्कली विवाह, प्रेम नाटक गरेर घुम्न जाने बहानामा भारतमा पुगेका अधिकांश महिलालाई घरेलु कामदारका रूपमा लगाइने गरेको छ ।
श्रीअन्तुको छिरुवा, गोर्खेको मानेभञ्ज्याङ, पशुपतिनगरको फाटक, चारमाईलगायतका स्थानबाट युवतीलाई भारत पुर्याइने गरिएको पाइएको छ ।
हराइरहेका १७ जनाको खोजी कार्य भइरहेको माइती नेपाल पशुपतिनगरले जनाएको छ । खोजीका लागि हराएका महिलाका अभिभावकले संस्थामा उजुरी दिने गरेका छन् ।
रासस