
काठमाण्डु, १५ मंसिर– नेत्रविक्रम चन्द ‘विप्लव’ सँग कति हतियार होलान् ?
माओवादी लडाकु दस्ताका कमाण्डर नन्दकिशोर पुन ‘पासाङ’ का छोरा दिपेशका अनुसार तीन हजार थान हतियार विप्लव समूहसँग छन् ।
साना ठूला गरेर तीन हजार थान हतियार विप्लव समूहले राखेको अनुमान एमाओवादी नेताहरुले पनि गरेका छन् । तीमध्ये कति हतियारले काम गर्छन् भन्ने ठेगान छैन । तर पैसा भए हतियार जहाँ पनि जतिबेला पनि पाइन्छ भन्ने सबैलाई थाहा छ । वैद्यसँग छुट्टिएका विप्लवको हतियार बाहेकको शक्ति चाहिँ कति छ त ?
वैद्य–बादलसँगको सम्बन्ध विच्छेदपछि चितवनमा बसेको केन्द्रीय समितिको पूर्ण बैठक भनिएको भेलाले विप्लवको संयोजकत्वमा राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको छ ।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ खड्गबहादुर विक, धर्मेन्द्र बास्तोला, चौथो महाधिवेशन २०३१ का केन्द्रीय सदस्यद्वय चित्रबहादुर आले र ईश्वरी दाहाल ‘असारे काका’ बैठकमा सहभागी थिए ।
स्मरण रहोस्, आले र दाहाललाई पार्टीभित्र मोहन वैद्यका समकक्षीका रुपमा हेर्ने गरिन्छ । आले र दाहाल केन्द्रीय सदस्य हुँदा प्रचण्ड र बाबुराम भट्टराई जिल्ला समितिमा पनि थिएनन् ।
बैठकमा सहभागी हुने नेताहरुमा तिलक परियार, सन्तोष बुढामगर, भरत बम, उमा भुजेल, सरला रेग्मी, अनिल बिरही, ओमप्रकाश पुनहरु थिए ।
साँघु साप्ताहिकबाट