गोरखा, १५ मंसिर–कन्डम प्रयोग गर्न छाडेर गर्भनिरोधक औषधि खानेक्रम बढेपछि जिल्लामा एचआइभी संक्रमणको जोखिम बढेको छ । औषधिले गर्भ बस्न रोकेपनि एचआइभी र यौनजन्य रोग सर्नबाट रोक्दैन । स्वास्थ्यका लागि खतरा र आर्थिक रुपमा खर्चिलो हुने गर्भनिरोधक औषधि सेवन निरुत्साहित गर्नुपर्ने स्वाथ्यकर्मीहरु बताउँछन् ।
अहिले गोरखामा एक सय ५३ एचआइभी संक्रमित छन् । औषधि सेवन गरेर गर्भ बस्न नदिने र कन्डमविना यौनसम्पर्क राख्दा यो संख्या बढ्ने देखिन्छ । औषधि व्यवसायीका अनुसार अविवाहित किशोरकिशारीले गर्भनिरोधक औषधि किन्ने गरेका छन् ।
इकोन, आइपिल, अनवान्टेड, ई ७२, क्याक्स ७२ एमटिपी, प्रिग्नो, एमटिपिल्सलगायतका गर्भनिरोधक औषधि किननेको संख्या ५० प्रतिशत बढेको औषधि व्यवसायीको भनाइ छ ।
हरमाटारीका औषधि व्यवसायी श्रवण जोशी भन्दछन्, ‘कन्डम छाडेर औषधि किन्नेको संख्या ५० प्रतिशत बढेको छ । कहिले त इकोन किन्न एकाबिहानै ढोका ढक्ढकाउन आउछन् । विशेष गरेर अविवाहित यस्तो औषधि किन्न आउँछन् ।’
यौनसम्पर्क राख्दा औषधिको सट्टा कन्डम प्रयोग गर्न सम्झाउने गरेको उनले बताए । कन्डम भन्दा औषधि किन्न र प्रयोग गर्न सजिलो हुने भएकाले यसतर्फ आकर्षण बढेको उनी बताउँछन् ।
अन्नपूर्णपोस्ट दैनिकबाट