
काठमाण्डु, १५ मंसिर, नेपाल आयल निगमको सिनामंगलस्थित डिपोबाट तीन महिनामा पाँच करोड भन्दा बढीको इन्धन गायब भएको छ । त्यसमध्ये दुई करोड ५९ लाख बराबरको इन्धन निगमका कर्मचारी र चालकहरुले चोरी गरेका छन् ।
डिपो सञ्चालन तथा प्राविधिक नोक्सानीबारे अध्ययन गर्न निगमले बनाएको कार्यदलले गत साउन, भदौ र असोजमा तीन लाख, ५५ हजार ९ सय ६६ लिटर तेल गायब भएको प्रतिवेदन तयार पारेको छ । गत साउन २९ मा गठन गरिएको कार्यदलले ९ मंसिरमा निगम सञ्चालक समिति समक्ष प्रतिवेदन बुझाएको हो ।
अतिरिक्त हवाइ इन्धनको अहिलेको बजार मूल्य प्रतिलिटर एक सय ४३ रुपैयाँ छ । यसअनुसार तीन महिनामा पाँच करोड नौ लाख तीन हजार एक सय ३८ रुपैयाँ बराबरको इन्धन गायब भएको देखिन्छ ।
भारतीय आयल कर्पाेरेसन (आइओसी) को रक्सौल डिपोबाट निगमको सिनामंगल डिपोमा इन्धन ल्याइन्छ ।
गायब इन्धनमध्ये एक लाख ८१ हजार सात सय ७२ लिटर निगमका कर्मचारी र ट्यांकर चालकको मिलेमतोमा चोरी भएको प्रतिवेदनमा उल्लेख छ । साउनमा ४२ हजार पाँच सय ५५ लिटर, भदौमा ७५ हजार ७० लिटर र असोजमा ६४ हजार एक सय ४७ लिटर चोरी भएको छ ।
नयाँ पत्रिका दैनिकबाट