सुनसरी, १३ मंसिर– आफ्नै विवाहको भोज खाएका बेहुला अस्पतालमा भर्ना भएका छन् । विवाहको अघिल्लो दिन कसार बटार्ने कार्यक्रमको भोज खाएका मोरङ सिसवनी बडहरा– ६ का बेहुला टेकेन्द्र फुँयाल अस्पतालमा भर्ना भएका हुन् । भोजका कारण बिरामी हुनेको संख्या ४६ पुगेको छ ।
विराटनगरको नोबेल अस्पतालमा उपचार गराइरहेका ४६ बिरामीमध्ये १३ जनाको इमरजेन्सी र बाँकीको वार्डमा राखेर उपचार भइरहेको छ ।
भोज खाएकै कारण बिरामी भएका बेहुलासहित थप ११ जना शुक्रबार अस्पताल भर्ना भएको बेहुलाकी दिदी सीता दाहलले जानकारी दिइन् । बिरामी अवस्थामै सुनसरी खनार बजारमा रहेको खनारा नमूना अस्पतालमा उपचार गराएर बिहीबार टेकेन्द्रको विवाह सम्पन्न भएको थियो ।
टेकेन्द्रको पेट पोल्ने, पिसाब र दिसाबाट रगत जाने भएपछि शुक्रबार अस्पताल भर्ना भएको दिदी सीताले बताइन् । विवाहको अघिल्लो दिन बुधबार कसार बटार्ने कार्यक्रमपछि काउली, टमाटर र आलुको तरकारीसँग सेलरोटी खाएका थिए ।
नयाँ पत्रिका दैनिकबाट