
विराटनगर, १३ मंसिर– लाखौं रुपैयाँ खर्चिएर इन्जिनियरिङ पढेका व्यक्तिले कति तलबको आशा गर्लान ?
२५ हजार या ३० हजार ? तर, आश्चर्य लाग्न सक्छ । मोरङको सुन्दर– दुलारी नगरपालिका कार्यालयमा कार्यरत सबइन्जिनियर अम्बिका गुरागाईंले यतिबेला मासिक एक रुपैयाँ पाउने गरेका छन् ।
उनले नै नगरपालिकासँग मासिक एक रुपैयाँ लिने प्रस्ताव गरेको नगरपालिकाका कार्यकारी अधिकृत सुवर्ण घिमिरेले बताए ।
सो नगरपालिकाले प्राविधिक कर्मचारीका लागि आह्वान गरेको आवेदनमा न्यूनतम तलब कबोल गरी गुरागाईं जागिरे भएका हुन् ।
न्यूनतम तलब कबोल गर्नेमध्येबाट पदपूर्ति गर्दा उनी छनोटमा परेको घिमिरेको भनाइ छ ।
कार्यकारी अधिकृत घिमिरेले भने ,‘कर्मचारीका लागि मागिएको आवेदनमा एक रुपैयाँको प्रस्ताव आउँला भनेर मैले सोचेको थिइनँ ।
अन्य १६ आवदेनमा यति कम रुपैयाँ माग गरेको पाइएन ।’ उनका अनुसार जम्मा १७ जनाको आवेदन परेको थियो । अन्य आवेदकले न्यूनतम ३ हजारदेखि १४ हजारसम्म माग गरेका थिए । नयाँ पत्रिकाबाट