सार्कपछि नेपाली राजनीतिमा नयाँ मोड: सुशील राष्ट्रपति, ओली प्रधानमन्त्री

काठमाण्डु टुडे २०७१ मंसिर १० गते ३:२८ मा प्रकाशित

sushil-kp oliकाठमाण्डु, १० मंसिर– सार्क शिखर सम्मेलनलगत्तै नेपाली राजनीतिमा नयाँ मोड आउने संकेत देखिएको छ ।

दलहरुबीच सहमति बनाउन भएको प्रयास केहीदिनदेखि अलपत्र परेको र दुई तिहाई बहुमतका आधारमा संविधान जारी हुने सम्भावना पनि क्षीण हुँदै गएकाले राजनीतिमा नयाँ मोड आउने सम्भावना बढेको हो ।

सार्क सम्मेलनका कारण नेपाली राजनीतिको मुलपाटो ओझेलमा परेकाले आगामी सातादेखि मात्र राजनीतिक क्रियाकलाप तीव्र बन्ने अवस्था छ ।
प्रधानमन्त्री सुशील कोइराला र एमाले नेतृत्व जसरी भए पनि माघ ८ गते नै संविधान जारी गर्न दृढ देखिएका छन् ।

एमाले नेतृत्व र प्रधानमन्त्री कोइरालाबीच भएको गुप्त सम्झौताअनुसार माघ ८ गते संविधान जारी भएपछि कोइरालाले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पद हस्तान्तरण गर्नेछन् र कोइराला स्वयम् राष्ट्रपति बन्नेछन् ।

दुई प्रमुख दलका नेतामध्ये एक राष्ट्रपति र अर्को प्रधानमन्त्री बन्ने आन्तरिक सहमति बनेकै कारण कांग्रेस र एमालेका शीर्ष नेताहरुबीच अभूतपूर्व तालमेल र एकता कायम भएको देखिएको छ ।

ओली प्रधानमन्त्री भइसकेपछि राष्ट्रपतिको चुनाव गराइने र डा. रामवरण यादवको ठाउँमा सुशील कोइरालालाई पुर्‍याउने र उपप्रधानमन्त्रीसहितको गृहमन्त्रीमा कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाको चयन हुने सहमति उच्चस्तरमा बनेको बुझिएको छ ।
घटना र विचार साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us