
काठमाण्डु, १० मंसिर– सार्क शिखर सम्मेलनमा सहभागी हुन् मंगलबार नेपाल प्रस्थान गर्नु केही घण्टाअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरे, ‘छिमेकी राष्ट्रसँग घनिष्ट सम्बन्ध विकास गर्नु मेरो सरकारको मुख्य प्राथमिकता हो ।’
उनले यो ट्वीट आफ्नो व्यक्तिगत ट्विटरमा नभई भारतीय प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ‘एटपिएमओ इन्डिया’ बाट गरेका थिए । व्यक्तिगत ट्वीटर एकाउन्ट ‘एटनरेन्द्रमोदी’ बाट भने उनले नेपाल भ्रमण र सार्क शिखर सम्मेलनबारे केही उल्लेख गरेका छैनन् । नेपाल प्रस्थान गर्नुअघि उनले सार्क सदस्यराष्ट्रका प्रमुख तथा सरकारप्रमुखसँग द्वीपक्षीय छलफल गर्न आतुर रहेको सन्देश पनि दिएका छन् ।
श्रीलंकाका राष्ट्रिपति महिन्दा राजापाक्षले पनि काडमाण्डु अन्तर्राष्ट्रिय विमानस्तलमा ओर्लनबित्तिकै ट्वीट गर्न भ्याए । ‘केही समयअघि मात्र काठमाण्डु आइपुगेँ, भोलि १८ औँ सार्क शिखर सम्मेलनमा सहभागी हुनेछु’, राजापाक्षले आफ्नो आधिकारिक ट्वीटर एकाउन्ट ‘एटराजापाक्ष’मा लेखेका छन् ।
भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेले पनि काठमाण्डु प्रस्थान गर्नुअघि थिम्पु विमानस्थलमा तस्बिर खिचाएर ट्वीटरमा अपलोड गरेका थिए भने काठमाण्डु ओर्लनसाथ, ‘सार्क सम्मेलनमा सहभागी हुन काठमाण्डु अवतरण गरियो । न्यानो स्वागतका लागि धन्यवाद नेपाल’, भनी ट्वीट गरेका छन् ।
सार्क सदस्य राष्ट्रका प्रमुख तथा सरकार प्रमुखमध्ये बढी फलोअर्स भारतीय प्रधानमन्त्री मोदीको छ । उनको ट्वीटर एकाउन्ट ‘एटनरेन्द्रमोदी’लाई ८१ लाख ६३ हजार ६ सय २९ जनाले पछ्याएका छन् । उनको एकाउन्टलाई ट्वीटरले भेरीफाइसमेत गरेको छ । उनले सार्क सदस्य राष्ट्रका सरकारप्रमुखमध्ये भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेलाई मात्र ट्वीटरमा पछ्याएका छन् ।
त्यस्तै भारतीय प्रधानमन्त्रीको आधिकारिक ट्वीटरलाई ३६ लाख ६३ हजार ४८ जनाले पछ्याएका छन् । श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षेलाई ७७ हजार ३ सय ४३ जनाले पछ्याएका छन् । अफ्गानी राष्ट्रपति असरफ घानीलाई ५१ हजार ६ सय ७ जनाले पछ्याएका छन् भने पाकिस्तानी प्रधानमन्त्री सरिफलाई २५ हजार २ सय ३ जनाले पछ्याएका छन् ।
त्यस्तै भुटानी प्रधानमन्त्री तोग्बेलाइ २४ हजार ८६ जनाले पछ्याएका छन् भने बंगलादेशकी प्रधानमन्त्रीशेख हसिनालाई ११ हजार ४ सय ५६ जनाले पछ्याएका छन् । माल्दिभ्सका प्रधान्मन्त्री अब्दुल्लाह यामिनलाई २ हजार ९ सय ८९ जनाले पछ्याएका छन भने नेपालका प्रधानमन्त्री सुशील कोइरालाले ट्वीटर एकाउन्ट खोलेका छैनन् ।
नागरिक दैनिकबाट