
सल्यान, ६ मंसिर– पढेर राम्रो सरकारी जागिर खान खोज्ने युवालाई चुनौति दिँदै यहाँका एक युवाले स्नातकोत्तरको पढाइपछि गाउँमै व्यावसायिक बाख्रापालन सुरु गरेका छन् ।
स्वास्थ्य तथा समाजशस्त्रमा स्नातकोत्तर गरेका थारमारे–३ ठिनावाङका निरज केसीले जिमाली–६ डाँडागाउँमा व्यावसायिक बाख्रापालन सुरु गरेका हुन् ।
उनी जागिरका लागि विभिन्न संघसंस्थाबाट दिनहुँ आएका अनुरोधलाई बेवस्था गर्दै व्यावसायिक बाख्रापालनमा लागिपरेका छन् ।
केसीले आधुनिक खोर बनाइ जमुनापारी, वारवेरी, सानन र खरी जातका ५१ वटा बाख्रापालन गरेका छन् । पालिएकामा २५ माउ बाख्रा, २० पाठापाठी, २ खसी र ४ बोका रहेका छन् ।
जग्गाको उर्वर शक्ति ह्रास हुँदै गएकाले त्यसलाई पुरानै अवस्थामा ल्याउन र कृषि पशुपालनलाई व्यावसायिक बनाइ ग्रामीण आर्थिक अवस्थालाई सुधार गर्ने उद्देश्यले बाख्रापालन सुरु गरिएको केसीको भनाइ रहेको छ ।
‘जिल्लाबाट दैनिक १५० जना ले राहदानी बनाएर विदेश जान्छन् तर गर्न सके यहीँ स्रोत र अवसर छ । व्यावसायिक बन्न सके विदेश जानै पर्दैन त न जागिर खोजेर कतै भौंतारिनु पर्छ’, केसीले भने ।
बाख्रापालनका लागि ५२ रोपनी जग्गा भाडामा लिएर विभिन्न जातका घाँस लगाइसकेका केसीले जिल्लालाई निकट भविष्यमा बाख्राको स्रोत केन्द्र र अनुसन्धान केन्द्र बनाउने लक्ष्य रहेको बताए ।
गोरखापत्र दैनिकबाट