
काठमाण्डु, ६ मंसिर– जनकपुरमा बिहीबार बिहान ११/१२ बजेदेखि नै सनसनी हल्ला फैलियो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भयो भनेर ।
मोदीको भ्रमणका लागि भारतीय अधिकारी बस्ने होटेल बुकिङ र तिनका लागि तयार गरिएका गाडी बुकिङ भारतीय पक्षबाट रद्द गरिएपछि जनकपुरमा यो समाचार फैलिएको थियो ।
समाचारले जनकपुरलाई दु:खी बनाएपछि त्यहाँबाट नेपाली सरकारी अधिकारीले भ्रमणको तयारीको जिम्मा पाएका पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधिलाई बिहीबार अपराह्न २ बजेतिर टेलिफोन गरी समाचारबारे जिज्ञासा राखे ।
जनकपुर भ्रमणको तयारी लगभग पूरा गरेर मन्त्री निधि काठमाण्डु आइसकेका थिए । जनकपुरबाट खबर आउँदासम्म निधिलाई मोदीको भ्रमण रद्द भएको सूचना थिएन ।
मोदी भ्रमणको सम्पूर्ण तयारीबारे मन्त्री निधिसँग समन्वय गर्ने जिम्मा पाएका परराष्ट्र मन्त्रालयका भारत डेस्क हेर्ने सहसचिव अमृत राईले टेलिफोन गरी मन्त्री निधिलाई मोदीको जनकपुर भ्रमण रद्द भएको सूचना दिए ।
राईले लुम्बिनी र मुक्तिनाथ भ्रमण गर्ने कार्यक्रम बुधबार नै रद्द भएको जानकारी पहिल्यै आइसकेको र बिहीबार जनकपुरको भ्रमण पनि रद्द भएको सूचना भारतीय दूतावासबाट आफूले पाएको जानकारी मन्त्री निधिलाई दिए ।
मन्त्री निधिले भारतीय राजदूत रन्जित रेलाई टेलफोन सम्पर्क गर्ने प्रयास गरे । तर उनी सफल हुन सकेनन् । त्यसपछि मन्त्री निधिले काठमाण्डुस्थित भारतीय दूतावासका डीसीएम पीयूष श्रीवास्तवलाई टेलिफोन लगाए ।
उनीसँग सम्पर्क भयो । श्रीवास्तवले जनकपुर भ्रमण रद्द भएको पुष्टिमात्र गरेनन्, लुम्बिनी र मुक्तिनाथ जाने कार्यक्रम पनि रद्द भएको जनाउ दिए । मन्त्री निधिले भ्रमण रद्द नगर्न उनलाई पनि अनुरोध गरे ।
तर उनले भ्रमण रद्द नै भइसकेको बताए । त्यसपछि मन्त्री निधिले श्रीवास्तवलाई सोधे, म यो सूचना सार्वजनिक गरिदिऊँ तर जबाफमा श्रीवास्तवले भने, हुन्छ, गरिदिनुस् ।
उता भारतीय प्रधानमन्त्री मोदीको भ्रमण रद्द भएको अपुष्ट समाचारले जनकपुर तनावग्रस्त बन्यो । गृहमन्त्री बामदेव गौतम र मन्त्री निधिको विरोध र आलोचना भइरहेको थियो ।
मन्त्री निधिले परराष्ट्र मन्त्रालय र भारतीय दूतावासमा सूचना लिइसक्दा यो सूचना गृहमन्त्री र परराष्ट्र मन्त्रीलगायतलाई पनि जानकारी भएको थाहा पाए ।
त्यसपछि उनले आफ्नो नामबाट बिहीबार साँझ वक्तव्य निकालेर मोदीको जनकपुर भ्रमण रद्द भएको सूचना सार्वजनिक गरे ।
अन्नपूर्ण पोष्टबाट