पाल्पा, ६ मंसिर– समयमा भैंसी नब्याएपछि पाल्पाको रामपुर नगरपालिका, गेझाका किसानले भैंसीलाई मर्निङवाक गराउन थालेका छन् । बाँधेर मात्रै राखेका कारण यो समस्या भएको हुन सक्ने अनुमानका साथ उनीहरुले भैंसीलाई बिहानै गोठबाट फुकाएर घुमाउन थालेका हुन् ।
सामान्यतया ११ महिनामा भैंसी ब्याउने भए पनि १२ देखि १४ महिना भइसक्दा पनि नब्याएकाले गेझाका किसानले यो उपाय निकालेको किसान कृष्णप्रसाद अधिकारीले बताए ।
अधिकारीले पालेको भैंसी राँगो लिएको १३ महिना लागिसक्दा पनि ब्याएको छैन । अर्का किसान विष्णुप्रसाद अधिकारीको भैंसीले राँगो लगाएको १४ महिना हुँदा समेत नब्याएकोले समस्या बढेको छ ।
यस्तै समस्या दिननारयण श्रेष्ठ, मोहन भण्डारी, रेमलाल भण्डारीलगायतका किसानका भैंसीमा देखिएका कारण उनीहरु सबैले ब्याउने भैंसीलाई मर्निङवाक गराउन थालेका हुन् ।
अन्नपूर्णपोस्ट दैनिकबाट