एसएलसी पास गरेका नेता भन्छन्, ‘खुला विश्वविद्यालयबाट डिग्री लिन चाहन्छु’

काठमाण्डु टुडे २०७१ मंसिर ५ गते १:४४ मा प्रकाशित

Pradip-Gyawaliकाठमाण्डु, ५ कात्तिक– आफ्नै व्यस्तताले कलेज गएर पढ्न सकिन, मेरो चाहना अब खुला विश्वविद्यालयले पूरा गर्नेछ ।

प्रस्तावित खुला विश्वविद्यालयको लागि बेलायती र नेपाली विज्ञहरु सम्मिलित  विस्तृत कार्ययोजना बनाउन राजधानीमा आयोजित कार्यशालामा एमाले नेता प्रदीप ज्ञवालीले भने, ‘नेपालमा यो विश्वविद्यालय खुलेपछि म पहिलो विद्यार्थी हुनेछु ।’
भूमिगत राजनीतिको कारण उतिबेला एसएलसीभन्दा माथि पढ्न नपाएको र पछि पार्टीको व्यस्तताले नसकेको भन्दै एमाले सचिव ज्ञवालीले गरिब र दूरदराजका व्यक्तिलाई लक्षित गरेर कार्ययोजना बनाउन सुझाए । उच्च, प्राविधिक तथा व्यवसायिक शिक्षालाई आम समुदायको पहुँचमा पुर्यादउन सरोकार निकायका ५० भन्दा बढी अधिकारी सम्मिलित दुईदिने कार्यशालामा उनी धारणा राख्दै थिए ।

‘अहिले शिक्षा प्राप्तिको पहुँमा ठूलो खाडल छ, सम्पन्नले सजिलै पाउँछ, विपन्न टाढा हुनुपर्छु गुल्मी निवासी ५२ वर्षीय ज्ञवालीले सुनाए, हामीलाई त्यस्तो संयन्त्रको जरुरी छ, पढ्न चाहने जोकोहीले सहज पहुँच पाउन् ।’ कामकाजीहरुलाई घर तथा कार्यक्षेत्रमै बसेर इन्टरनेट, कम्प्युटर र सञ्चारका विभिन्न माध्यमद्वारा अध्ययन गर्न सक्ने भएकाले खुला विद्याविद्यालय नेपाल जस्तो देशको लागि बढी आवश्यक रहेको विज्ञहरुको धारणा छ ।

सोही कार्यशालामा सहभागी सभासद रञ्जु झा ठाकुरले पनि खुला विश्वविद्यालयमा पढ्ने सुनाइन् । स्नातकोत्तर गरिसकेकी झा संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समिति सभापति पनि हुन् । ‘मैले एक विषयमा मास्टर्स डिग्री नै छु तर फेरि अर्को विषयमा गर्ने छु’, उनले भनिन्, ‘खुला विश्वविद्यालय स्थापना गर्न जसरी पनि ऐन ल्याउनु नै पर्छ ।’

कांग्रेसको तर्फबाट समानुपातिकमा चुनिएका सभासद् जीवन परियार पनि पढ्ने धोको हुँदाहुँदै नियमित कजेल जान नसकेको सुनाए । बीए र बीएड गरेर समाजशास्त्र र राजनीतिशास्त्रमा एमए गर्ने इच्छा पूरा भएको छैन’, ‘कास्की निवासी परियारले भने, खुला विश्वविद्यालय सुरु भएपछि त्यो चाहना पूरा गर्नेछु ।’

नेतामात्र होइन सरकारी कर्मचारीको चाहना पनि उस्तै छ । खुला विश्वविद्यालयको मस्यौदामा देश–विदेशमा कार्यरतलाई लक्षित गर्दै कार्यक्रम संचालन गर्ने उल्लेख छ । ‘दुईदुई पटक एलएमएलमा सम्मिलित भएर पनि आफ्नै कामले पढ्न पाइन’, शिक्षा मन्त्रालयका कानून उपसचिव धर्मराज कुइँकेलले भने, म जस्तै पढ्न नपाएका थुप्रै कर्मचारी छन्, जो विश्वविद्यालय खुलेपछि पढ्छन् ।’

शैक्षिक तथ्याङ्क अनुसार नेपालमा उच्च शिक्षाको लागि योग्य विद्यार्थीमा वाषिर्क १७ प्रतिशतमात्र भर्ना हुने गरेका छन् । ‘पेशा छाड्न सकिँदैन, त्यही कारण नियमित कजेल जान भ्याइँदैन, कुइँकेलले भने, यो विश्वविद्यालय खुलेपछि स्नातकोत्तरको पहिलो विद्यार्थी म पनि हुनेछु ।’

उनको अनुमानमा प्रतिवर्ष ३० हजारभन्दा नेपाली विद्यार्थीले विदेशी खुला विश्वविद्यालयका कोर्स पढिरहेका छन् । यसरी पनि थुप्रै पैसा बाहिरिएको छ भने नेपालमै खोल्न किन ढिला गर्नुहुँदैन ? उनले भने । नेपालमा खुला उच्च शिक्षाको बहस साढे ३ दशकदेखि भए पनि अहिलेसम्म ऐन बन्न सकेको छैन ।

एमाओवादी सभासद डीआर पौडेलले खुला विद्याविद्यालय सबै दलले चाहेको र कुनै मतभिन्नता  नभएकोले चाँडै विधेयक ल्याउन जोड दिए । ‘शिक्षा मौलिक अधिकार हो, विधेयक जति सक्दो चाँडो ल्याउनुपर्छ’ उनले भने, ‘हामी ‘पनि पहल गर्छौं ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us