हस्ताक्षर अभियान चलाउँदैछन् प्रधानमन्त्री

काठमाण्डु टुडे २०७१ मंसिर १ गते १:४६ मा प्रकाशित

काठमाण्डु, १ मंसिर– कांग्रेस– एमालेले संविधानका विवादित विषयमा आफूहरूको संयुक्त प्रस्ताव संविधानसभामा पठाउन हस्ताक्षर अभियान चलाएका sushil daछन् ।
प्रस्तावको विपक्षमा रहेका दलका सभासद्लाई पनि बालुवाटारमा बोलाएर प्रधानमन्त्री सुशील कोइरालाको रोहबरमा हस्ताक्षर अभियानमा सहभागी गराइएको छ ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पेस गरिएको प्रस्ताव प्रक्रियामा लैजान दबाब दिने भन्दै हस्ताक्षर अभियान चलाइएको हो । कांग्रेस–एमालेसहित राप्रपा, बहुजन शक्ति पार्टी र दुई स्वतन्त्र सभासद्को समर्थनमा संयुक्त प्रस्ताव समितिमा पेस भएको थियो ।
प्रस्ताव संविधानसभामा लैजान भन्दै सत्तारुढ दुई दलको सहमतिमा संकलित हस्ताक्षर सोमबार बोलाइएको संवाद समिति बैठकमा पेस गर्ने तयारी छ । स्रोतका अनुसार शनिबारसम्म ३८ सदस्यको हस्ताक्षर रहेकोमा आइतबार थप चार सदस्यले हस्ताक्षर गरेका छन् ।
स्रोतका अनुसार कांग्रेस सभापति तथा प्रधानमन्त्री कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेललगायतका नेताहरूले प्रस्ताव प्रक्रियामा लैजान माग गरिएको पत्रमा हस्ताक्षर गरेका छन् । संवाद समितिमा कांग्रेसका १८ सभासद् छन् । समितिमा प्रतिनिधित्व गर्ने कांग्रेसका मधेसकेन्द्रित सभासद्ले भने विरोधस्वरूप हस्ताक्षर गरेका छैनन् । अमरेशकुमार सिंह, चित्रलेखा यादवलगायतका चार सदस्यले भने हस्ताक्षर नगरेको स्रोत बताउँछ ।
एमाले अध्यक्ष केपी ओलीसहित संवाद समितिमा रहेका ११ सदस्यले पनि हस्ताक्षर गरेको स्रोतको दाबी छ । एमालेका वरिष्ठ नेता झलनाथ खनालले भने हस्ताक्षर गरेका छैनन् । अमेरिकामा उपचार गरी फर्किएपछि हस्ताक्षर गराउने कार्यक्रम रहे पनि आइतबारसम्म खनालले प्रस्तावमा हस्ताक्षर गरेका छैनन् । संवाद समितिमा एमालेका तर्फबाट १६ सभासद् छन् ।
साझा प्रस्तावलाई प्रक्रियामा लैजानेबारे समितिमा दबाब दिन कांग्रेसले आफ्ना सभासद्लाई प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बोलाएर हस्ताक्षर गराएको थियो । एमालेले संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबारदेखि हस्ताक्षर संकलन गराएको थियो । साझा प्रस्तावको विषयमा असहमति जनाएका नेकपा माले, नेकपा संयुक्त, अखण्ड नेपाल जनजागरणलगायतका पार्टीलाई पनि सत्तारुढ दलले बालुवाटार बोलाएर हस्ताक्षर गराएका छन् ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us