
काठमाण्डु, २८ कात्तिक–सार्क शिखर सम्मेलनमा भाग लिन आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा गर्ने भनिएको सार्वजनिक सम्बोधन र साइकल वितरण कार्यक्रम कूटनीतिक मर्यादाविपरीत हुने भन्दै सभासद्हरुले आपत्ति जनाएका छन् । सार्क सम्मेलनका नाममा देशलाई मोदीमय बनाएको आरोप उनीहरुले लगाएका छन् ।
संसद्को राज्यव्यवस्था समितिको बैठकमा बिहिबार एमाले सभासद् यज्ञराज सुनुवारले कुनै पनि देशको प्रमुखले अर्काे देशको टोलटोलमा भाषाण गर्नु र साइकल बाँड्नु कूटनीतिक मर्यादाविपरीत हुने बताए । सार्क मुलुकका अन्य सरकार प्रमुखले पनि यसैगरी भाषण गर्ने र राहत वितरण गर्ने काम गरे सरकारले दिन मिल्छ कि मिल्दैन ?’ उनले प्रश्न गरे, ‘सार्वभौमसत्ता प्रश्न उठ्छ कि उठ्दैन ?’
त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकलाई मोदीमय बनाएको भन्दै आपत्ति जनाए । ‘कुनै एक देशका प्रमुखलाई खुसी पार्न सरकार लत्रियो । अन्य देशका प्रमुख पनिा आउछन् भन्ने सरकारले बिर्सेछ’, उनले भने ।
सरकारले भने मोदीले सार्वजनिक सभालाई सम्बोधन र साइकल बाँड्ने कार्यक्रम नरहेको बताएको छ ।
अन्नपूर्ण पोस्ट दैनिकबाट