घना जंगलको बीचमा बसेर के गर्दैछन् विप्लव ?

काठमाण्डु टुडे २०७१ कार्तिक २७ गते १:२८ मा प्रकाशित

netra bikram chandकपिलवस्तु, २७ कात्तिक– पार्टीमा फरक मत राख्दै आएका नेकपा–माओवादी सचिव नेत्रविक्रम चन्दले बोलाएको गोप्य राष्ट्रिय भेला बुधबार कपिलवस्तुमा सुरु भएको छ ।
जिल्लाको सुदूरपश्चिमस्थित शिवगढी गाविसको जंगलमा दिउँसो १ बजे भेला सुरु भएको थियो । जिल्लामा वैद्य पक्षको राम्रो प्रभाव भएको शिवगढी–९ बिजौरी गाउँदेखि १२ किलोमिटर पश्चिम घना जंगलमा कार्यक्रम चलिरहेको स्रोतले जनाएको छ ।

बिहीबारसम्म चल्ने कार्यक्रममा सचिव चन्दले आगामी दिनमा आफ्नो समूह कसरी जाने भन्ने विषयमा निर्णय लिने बताइएको छ । उनले आफू निकट र विश्वासपात्र नेता कार्यकर्तालाई मात्र बोलाएका छन् । भेलामा करिब ४० नेता सहभागी छन् । त्यसमा मगरात र अवध राज्य समितिका बढी छन् । तर कति जिल्लाका प्रतिनिधि सहभागी छन् भन्ने खुल्न सकेको छैन ।
चन्दले २ जिल्लाबाट जनालाई सहभागी गराएका छन् । सदरमुकाम तौलीहवाबाट ६० किलोमिटर पश्चिम जंगलमा सुरक्षा सतर्कता अपनाउँदै भेला गरिएको छ ।

भेलामा पोलिट्ब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा र माओवादी नेतासमेत रहेका पत्रकार महासंघका सचिव प्रभात चलाउने सहभागी छन् । भेलामा चन्दका दाजु कपिलवस्तु इन्चार्ज चन्द्रबहादुर चन्द, रुपन्देहीबाट उमा भुजेल र वसन्त श्रेष्ठ, नवलपरासीबाट बाला थापा र ठाकुर चापागाईं लगायत छन् । यस्तै पाल्पा र रोल्पाबाट पनि सहभागी आएका छन् ।
भेलामा चन्दले लेखेको एकीकृत क्रान्तिको कार्यदिशाको दस्तावेजमाथि छलफल हुने बताइएको छ । बाह्य सम्पर्क हुन नदिन नेता कार्यकर्ताको मोबाइल अफ गरिएको छ । बाहिरी मानिसलाई भेला स्थलसम्म जान दिइएको छैन ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us