विदेशीलाई बनाए अर्थमन्त्रीले महानिर्देशक

काठमाण्डु टुडे २०७१ कार्तिक २५ गते १:३३ मा प्रकाशित

bhatar subediकाठमाण्डु, २५ कात्तिक– अर्थमन्त्री रामशरण महतले चोर बाटो बाट अर्थ मन्त्रालयमा काजमा ल्याइएका विवादास्पद सहसचिव भरत सुवेदीलाई राजस्व अनुसन्धान विभागको उपमहानिर्देशकको जिम्मेवारी दिएका छन् ।
महतले मन्त्रीस्तरीय निर्णयबाट पटक–पटक आर्थिक विवादमा पर्दै आएका सुवेदीलाई मुलुकभरको भन्सार कार्यालयमा हुने राजस्व चुहावट र भन्सार छलीको छानबिन गर्ने महत्वपूर्ण विभागमा उपमहानिर्देशक बनाएका हुन् । विवादास्पद सुवेदीलाई विभागमा नलैजान कांग्रेस निकट कर्मचारीहरूले दिंदै आएको दबाबलाई बेवास्ता गरी महतले उनलाई पठाएका हुन् ।

सुवेदी अस्ट्रेलियाको स्थायी बसोबासको अनुमतिपत्र (पीआर) होल्डर हुन् । पीआर र ग्रीनकार्ड होल्डर कर्मचारीलाई कारबाही गर्न सरकारले पेस गरेको विधेयक संसदमा विचाराधीन रहेका बेला त्यसको भावनाविपरीत अर्थमन्त्रीले पीआरवाला सुवेदीलाई आकर्षक ठाउँमा लगेर पुरस्कृत गरेका हुन् । महत यसअघि अर्थमन्त्री हुँदा पनि सुवेदी अर्थमन्त्रालयमातहतका आकर्षक ठाउँमा पुरस्कृत हुँदै आएका थिए ।

स्रोतका अनुसार सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले मात्र सहसचिवहरूलाई सरुवा र काजमा पठाउने निर्णय गर्ने कानुनी व्यवस्थालाई मिचेर महतले सुवेदीलाई चोर बाटोबाट अर्थमा काजमा ल्याएका हुन् ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us